काठमाडौँ ,३१ भदौं।
सरकारको नेतृत्व फेरिने बित्तिकै सुकुम्वासी आयोग विघटन भएको छ । सरकारले नयाँ सुकुम्वासी आयोग गठन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको हो । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले राष्ट्रिय भूमि आयोग गठन गरिएको बताए । सरकारले आयोगको अध्यक्ष र उपाध्यक्षसमेत नियुक्त गरेको छ ।
आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ । निरौला यसअघि नेपाली काँग्रेस निकट नेपाल शिक्षक सङ्घका अध्यक्षसमेत थिए । उपाध्यक्ष खड्का भने माओवादी केन्द्र निकट हुन् । उनी यसअघि माओवादी केन्द्र निकट किसान सङ्घमा आवद्ध थिए । प्रधानमन्त्री देउवाले विभागीय मन्त्रीको हैसियतबाट बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष निरौलालाई शपथ खुवाएका थिए । अध्यक्षले शपथ खाएपछि उनले उपाध्यक्ष खड्कालाई शपथ खुवाएका थिए ।