विराटनगर १ जेष्ठ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले खाद्यान्न सहित औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र अनाबश्यक मूल्य बृद्धि गर्ने विरुद्ध निर्दयितापूर्वक कठोर रुपमा कारबाही गर्ने उद्घोष गरेका छन् ।
कोराना भाइरसको कारण उत्पन्न त्रासको वातावरणको फाइदा उठाउँदै कृत्रिम अभाव सृजना गर्ने व्यापारी तथा व्यवसायीविरुद्ध सूचना उपलब्ध गराउन समेत आम नागरिकहरुलाई उनले आग्रह गरेका छन् । भारतबाट हुने आयात र ढुवानीका कार्यहरु नरोकिएको अवस्थामा खाद्य सामाग्री लगायतका दैनिक उपभोग्य सामाग्रीको मूल्यबृद्धी हुने कुरा असामान्य हुने भन्दै उपभोक्तालाई सचेत बन्न प्रमुख जिल्ला अधिकारी निरौलाले आग्रह समेत गरेका छन् । उनले कालोबजारी र मूल्यबृद्धिका कुरामा गुनासाहरु आइरहेको भन्दै यसको अनुगमनमा कुनै कन्जुसाइ नगरिने बताएका छन् ।