विराटनगर २९ माघ ।
नेकपा भित्रको आन्तरिक कलहले मुलुक संकटमा परेको कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आरोप लगाएका छन् ।
कांग्रेस महानगर समितिद्वारा विराटनगरमा बिहीबार आयोजित “बर्तमान राजनैतिक अवस्था, संवैधानिक संकट,यसकाे निकास र आजको आवश्यकता विषयक विचार गोष्ठी”का क्रममा नेता थापाले यस्तो बताएका हुन् । रामकुमारी झाक्री पक्राउ गर्न खोजेको विषयमा टिप्पणी गर्दै थापाले भने, ‘सरकार अब झ्यालाखानाको संख्या बढाऊ । अब म जस्तो बोल्नेविरुद्ध राज्यद्रोहको मुद्दा लगाऊ । त्यो फेस गर्न युवा पुस्ता तयार छ ।” उनले राष्ट्रपतिले आफ्नो जिम्मेवारी भुल्दै गएको समेत बताए । उनले भने “राष्ट्रपति व्यक्ति होइन, संस्था हो । तर, त्यो संस्थाको गरिमा उहाँले राख्न सक्नु भएन ।”
अहिलेको परिस्थितिमा जनताको कुनै दोष नभएको बताउँदै थापाले विगतमा दरबार र तरबारबाट मुलुक संकटमा फसेकोे स्मरण गर्दै अहिलेको अवस्था नेकपाको घरबारको कारण मुलुकमा संकटमा फसेको बताए । संविधान व्यक्तिको सनकको शिकार भएको बताउँदै थापाले सनकीहरुको सेटिङ भत्काउनु पर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे नियन्त्रित लोकतन्त्र स्थापना गर्न खोजेको आरोप लगाए । उनले कांग्रेसको सहभागिता बिना मुलुकमा राजनैैतिक स्थिरता र संसद पुर्नस्थापना सम्भव नभएको बताए । प्रधानमन्त्री ओलीको चक्करमा फसेका प्रचण्डको हारगुहार हेर्दा कांग्रेसलाई मजा आइरहेको व्यङ्ग्य गर्दै घिमिरेले भने “सडकमा यति चाढै पुग्नुमा प्रचण्डको हात छ ।”
यस्तै पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतन्त्र धरापमा पर्न दिन नहुने बताए । राजनैतिक संकटलाई कांग्रेसले मात्रै सपार्न सक्ने बताए । संविधानविद् डा. विपिन अधिकारीले वर्तमान राजनैतिक संकट नियोजितरुपमा आएको बताए । यसको समाधानका लागी सशक्त आन्दोलन गर्नु पर्नेमा उनले जोड दिए । संविधानमा संसद विघटनको अधिकार कुनै कुनाबाट हेर्दा पनि भेट्न नकिने बताए ।
विराटनगर महानगरका मेयर तथा युवा नेता भीम पराजुलीले केपी ओली सरकारका निर्णयले जनताको अधिकार कुन्ठित हुन थालेको बताए । संविधानको रक्षार्थ जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने भन्दै पराजुलीले प्रजातन्त्र ,लोकतन्त्र र मुल्यमान्यताको लडाइ होमिन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष डिगबहादुर लिम्बु,नेताहरु अशोक कोइराला, रुक्मिणी कोइराला,कांग्रेस विराटनगर महानगर समितिका कार्यबाहक अध्यक्ष अरुण न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
केहि तस्विरहरु/कौशल निरौला