स्वामी विवेकानन्द एक महान् आत्मा तथा कर्मयोगी सन्त थिए । पिता विश्वनाथ दत्त र माता मुवनेश्वरीदेवी दत्तका जेष्ठ सुपुत्रका रुपमा जन्मेका उनी आमाको इश्वरभक्तिबाट प्रभावित थिए । आफ्नी आमा ध्यान गरेका देखेर उनी पनि ध्यान गर्दथे । धार्मिक ग्रन्थहरुको प्रवचन हुँदा मन लगाएर सुन्ने गर्दथे । उनी मृत्युसँग पनि नडराउन र हनुमान्जस्तै विर र पराक्रमी बन्ने चाहाना राख्दथे ।
विवेकानन्द सानैदेखि आध्यात्मिक प्रकृतिका व्यक्ति थिए । उनमा सानैदेखी इश्वरप्रति आस्था रहे पनि इश्वरको वास्तविक स्वरुप कस्तो हुन्छ, उनीसँग साक्षात्कार गर्न सकिन्छ वा सकिदैन भन्ने विषयमा उनी चिन्तनशील रहन्थे । इश्वर भए त देख्नुपर्ने उनको सोचाई थियो । उनले गुरु स्वमी रामकृष्ण परमहंसबाट तत्वको ज्ञान पाएर इश्वरसँग साक्षत्कार गरेका थिए ।
स्वामी विवेकानन्दका बुवाको देहान्त हुँदा उनको घरमा एकदमै दुस्ख थियो। बुवाको देहान्तपछि जब उनले भोकले पिरोलिएका आमा र भाइलाई देख्थे, उनले आफैलाई धिक्कार्थे । उनमा जीवन देखि नै निराशा छायो । एकदिन विवेकानन्दले आफू नजिकै बाघ आइरहेको चाल पाए। उनले सोचे,’ यस्तो जीवन बाँच्नु भन्दा त बरु बाघले मलाई खाओस् र आफ्नो पेट भरोस्’ । त्यसपछि उनी जहांको त्यहीं उभिरहे । तर, बाघले उनलाई झम्टिएन, खुरुखुरु आफ्नो बाटो लाग्यो।
पछि आफ्नो यो घटनालाई आफ्ना अनुयायीहरुलाई सुनाउंदै विवेकानन्दले भन्ने गर्थे, ” हरेक व्यक्तिको जीवनमा दुस्ख आउँछ। दुस्ख ले कहिल्यै पनि आत्तिनु हुँदैन। जीवनले हामीलाई धेरै पटक अवसर दिन्छ। त्यो अवसरलाई चिन्नुपर्छ। भगवानले हरेक व्यक्तिलाई एउटा उद्देश्यका साथ पठाएका हुन्छन्” । आफ्ना गुरु स्वमी रामकृष्ण परमहंसको देहावसानपछि गुरुको संकल्प साकार पार्न धर्म प्रचार गरी सामाजिक उत्थान गर्ने उद्येश्यले करिब साढे ३ वर्षसम्म उनले भारतकै यात्रा गरे ।
मुलुकमा व्यापक आध्यात्मिक क्रान्तिको महसुस गरी आफ्नो जीवनलार्य समर्पित गर्न विवेकानन्दले अमेरिकाको सिकागो सहरमा सन् १८९३ मा भएको विश्वधर्म सम्मेलनमा अध्यात्म दर्शनका गहन तथा सारभुत कुरालाई अत्यन्त प्रभावकारी ढङ्गमा प्रश्तुत गरे । त्यसपछि बेलायत र फ्रान्समा समेत गएर धार्मिक प्रवचन दिए । उनले अमेरिकामा हिन्दुधर्म र दर्शनको प्रचार गर्ने केन्द्रको समेत स्थापना गरे ।