काठमान्डौ १६ पुस ।
चीनको सरकारी कम्पनी सिनोफर्मले विकास गरेको कोभिड–१९ विरुद्ध खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिएको छ । चिनियाँ नियामकहरुले यो खोपलाई अनुमति दिने निर्णय गरेको बताइएको छ । चीनको नेशनल मेडिकल प्रडक्ट एड्मिनिस्ट्रेसनल सिनोफर्मको कोरोना खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिने निर्णय गरेको हो । यसअघि नै यूएईले आफ्नो मुलुकमा यो खोपलाई अनुमति दिइसकेको छ । सिनोफर्मले आफ्नो खोप कोरोना महामारीबाट बच्नका लागि ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेको बताएको छ । चीनले केही महिनादेखि अन्तिम चरणको परीक्षणमा रहेका खोपहरुबाट आफ्ना केही नागरिकहरुलाई कोरोना खोप कार्यक्रम अघि बढाउँदै आएको छ । चीनमा अन्तिम चरणको परीक्षणमा रहेका पाँचओटा कोरोना खोपहरु विकासको क्रममा रहेको चीनिया स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।