विराटनगर ९ असोज ।
केही दिनदेखी परेको अबिरल झरीका कारण विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको छ । त्यसक्षेत्रमा डुवान हुनुको मूख्य कारण रेलवे मार्गको उच्च ड्याम्प र पश्चिम क्षेत्रको भागमा पानीको निकास हुने स्थान अभाव भएको स्थानियले बताएका छन् । विराटनगरका अन्य केही स्थान समेत डुवानमा परे संगै जनजिवन प्रभावित बन्न पुगेको छ । नगर डुवान परे संगै शुक्रबार विराटनगर महानगरपालिका मेयर भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला तथा इन्जिनियरहरु सहितको टोलीले नगरको विभिन्न भागको निरिक्षण गरेका छन् ।
विराटनगरका अधिकांश स्थानमा विकास निर्माणका काम भइरहेका छन् । यस्तै व्यपारिक विस्तार आयोजना अन्तरगत रानी इटहरी सडकखण्डको समेत काम पुरा भएको छैन । पानी जाने केही ठाउँमा विकासका कामहरु नसकिएका कारण पानि निकासमा समस्या सिर्जना भएको बताइएको छ । मेयर पराजुलीले पानी निकासका लागि अधितम योजनाहरु कार्यान्वयनमा आउने क्रममा रहेको बताए । पानी निकास हुने स्थानको पहिचान सहितका कार्य गर्न मातहतका इन्जिनियरहरुलाई समेत पराजुलीले निर्देशन दिएका छन् ।