विराटनगर २६ भदौ /
विराटनगर महानगरपालिकाले अपाङगता भएकाहरुका लागि सामाजिक जीवनस्तरमा सुधार गर्ने कार्यक्रम ल्याउने भएको छ । अपाङ्गताको क्षेत्रमा काम गर्दैै आएको करुणा फाउण्डेसन नेपाल ,सामाजिक विकास मन्त्रालय प्रदेश १ र विराटनगर महानगरपालिकाको समन्वयमा यो कार्यक्रम ल्याउन लागिएको हो । शुक्रबार करुणा फाउण्डेसन र विराटनगर महानगरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगरका मेयर भीम पराजुली प्रमुख संरक्षक र उपमेयर इन्दिरा कार्की अध्यक्ष रहने गरी तय गरिएको सम्झौता पत्रमा फाउण्डेसनका तर्फबाट योगेन्द्र गिरी र विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् ।
यही महिनाबाटै यस प्रोजेक्टको काम सुरु हुने बताइएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा,स्वास्थ्य ,घरयसी तथा सामाजिक समस्याका विषयमा काम गर्ने भएकाले कार्यक्रम फलदायी हुने अपेक्षा महानगरको छ । यो कार्यक्रम २०७९ साल सम्म चल्ने बताइएको छ । शुक्रबार आयोजित सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मेयर भीम पराजुलीले कार्यक्रमको सफलताको कामना गरे । विराटनगरमा अपाङ्गता जीवन बिताइरहेका व्यक्ति र परिवारले राहत पाउने गरी काम गर्न समेत फाउण्डेसनलाई आग्रह गरे ।