विराटनगर ७ भदाै ।
कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न भाटभटेनीका सञ्चालक उद्योगी एवं समाजसेवी मीन बहादुर गुरूङले पाँच लाख सहयोग गरेका छन् । समाजसेवी गुरूङले पठाएको उक्त रकमको चेक भाटभटेनिका क्षेत्रीय प्रबन्धक बिनाेद भट्टराई र विराटनगर साखा प्रमुख सरिता राईले आइतवार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेका छन् ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समाजसेवी गुरूङले विभिन्न स्थानीय तहलाई पनि सहयोग गर्दै आएका छन् । विराटनगर महानगरमा संक्रमण बढेसँगै कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिदका लागि मेयर पराजुली लागेका छन् । पराजुलीले आफूले पाउने एक वर्षको सेवा सुविधाबापतको ५ लाख रुपैयाँ समेत प्रदान गरेका छन् । यस्तै विराटनगरका दर्जन बढी उद्योगी ब्यवसायीले पिसिआर मेसिन खरिदमा सहयाेग रकम प्रदान गरेका छन् ।