विराटनगर ११ साउन ।
गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीमा धनुषाका प्रजिअ कोषहरि निरौलाको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि मोरङका प्रजिअ मदन भूजेललाई आन्तरिक मामिला मन्त्रालय बागमति अञ्चलमा सरुवा गरेपछि मोरङमा प्रजिअ रिक्त थियो । गृहमन्त्रालयको शुक्रवारको निर्णय अनुसार निरौला यहाँ आउन लागेका हुन् ।
उनी यसै साता हाजिर हुने बुझिएको छ । इलाम ,नुवाकोटको प्रजिअ भएर काम गरिसकेका उनी लामो समय गृहमन्त्रालयमा कार्यरत थिए । निरौलाको गत बर्ष धनुषा सरुवा भएको हो । ओखलढुङ्गा घर भई हाल काठमाण्डौमा स्थायी बसोबास गर्दै आएका निरौला नेकपाको सरकार आएपछि आर्कषक जिल्लाको प्रजिअ हुने भाग्यमानी सहसचिव भएका छन् ।
मोरङको प्रजिअको लागी गृहमन्त्रालयका सहसचिव प्रेम भट्टराईले कोसिस गरेपनि उनी कांग्रेस निकट भएका कारण सफल हुन सकेनन् । भट्टराईको धनुषाको प्रजिअमा सरुवा भएको छ । नेकपाका केन्द्रीय नेतासँग उठबस भएका निरौलाले मोरङ आउने चाहाना देखाएपछि भट्टराई पछि परेका हुन् । यता मोरङका प्रजिअ भूजेल सोमवार विहानै जिल्ला छोडने बुझिएको छ । आइतवार दिनभरि जसो उनी विदाई कार्यक्रममा सहभागि भए ।