काठमान्डौ ३१ असार ।
महिला अधिकारको नाममा कतिपय स्थानमा अधिकार दुरुपयोग भएको सांसदहरुले बताएका छन् । जसका कारण पुरुष हिंसाका घटनामा समेत बृद्धि भइरहेको दाबी गरिएको छ । महिला तथा सामाजिक समितिमा भएको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।
सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए । यस्तै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथि भएको छलफलमा सांसद हिरा गुरुङले आयोगले बैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएको बताइन् ।
शहर केन्द्रीत न्यायलाई सच्याउनु पर्नेमा उनले जोड दिइन् । यस्तै सांसद गंगा चौधरीले पीडित पुरुषहरुले न्याय खोज्न जाने स्थानको अभाव र जटिलता रहेको बताइन् । अहिलेको समयमा महिला मात्रै पीडित छैनन् पुरुषहरु पनि छन् चौधरीले भनिन् “उनिहरु कहाँ जाने न्याय खोज्न ? ” उनले महिला हिंसा मात्रै नभइ पुरुषमाथि पनि हुने हिंसाबारे आयोग बोल्नुपर्ने र न्याय दिनुपर्ने बताइन् । आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको छ जसका कारण समस्या सिर्जना भएको छ ।