विराटनगर २९ असार ।
नेपाल प्रजातान्त्रिक महासंघले प्रदेश नम्बर १ मा संगठन विस्तार कार्यलाई तिव्रता दिएको छ । महासंघले प्रजातान्त्रिक विचार बोकेका देशभरिका बुद्धिजीवी , सेवा निवृत राष्ट्रसेवक, विभिन्न पेशा व्यवसाय र समाजसेवामा आवद्ध भएका व्यक्तीहरुलाई समेटेर संगठन विस्तार गरेको हो । प्रदेश नम्वर १ का प्रवक्ता सुजन दाहालका अनुसार यस प्रदेशका १२ जिल्लामा संगठन विस्तार भैसकेको र बाँकी २ जिल्लामा समेत चाडै समिति गठन हुने बताए ।
लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गर्ने उद्देश्यले गठन भएको महासंघले प्रदेश नम्बर १ को संयोजकमा निखिल पोखरेल ,महासचिवमा शर्मिला अधिकारी र प्रवक्तामा दाहाललाई मनोनयन गरिसकेको छ । प्रवक्ता दाहालले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गर्दै प्रजातान्त्रिक अधिकार संरक्षण गर्न संस्था कृयाशिल हुने बताए । महासंघले देशका ७७ जिल्ला मध्ये ७० जिल्लामा संगठन विस्तार गरिसकेको दाहालले जानकारी दिए ।