नेपाली राजनीति पछिल्ला केही दिनमा रनक्कै तातेको छ । नेकपामा देखिएको शक्ति संर्घषले सरकार वा स्वयम् नेकपा के विभाजन हुने निश्चित भएको छैन । तर, सरगर्मी बढेको छ । दौडधुप र भेटघाट बाक्लिएको छ । आरोप प्रत्यारोप, त्रास, लोभ सबै अस्त्रको प्रयोग खुला भएको छ । नेपाली राजनीतिमा केही न केही उथलपुथल हुने निश्चितप्राय छ ।
नेकपामा लामो राजनैतिक निष्ठा र सर्मपण भएका नेताहरुका ओलीले बागडोर सम्मालेपछि एक स्वरका गुनासा छन् । एकलौटी रुपबाट पार्टी संचालन गरेको, गुटबन्दी गरेको, निर्णयमा एकाधिकार जमाएको र पार्टी भित्रै गुण्डागर्दी गरेको जस्ता अनेकौ आरोपहरु छन् ।
प्रधानमन्त्री के. पी. शर्मा ओलीले भारतको निर्देशनमा नेपालका केही नेताहरु र आफ्नै पार्टीका केही साथीहरुले आफूलाई सरकारबाट हटाउने खेल सुरु गरेको भनेर अभिव्यक्ति दिएपछि नेकपाको विवाद सतहमा देखिएको हो । तत्कालीन नेकपा माओवादी र नेकपाको राजनैतिक पाठेघरबाट जन्मेको नेकपा जन्मको करिब ३ बर्षको दुधे अवस्थामा नै निमोनियाको शिकार हुनपुग्यो । नेकपा अहिले भेन्टिलेटरमा छ । चिकित्सकले माया मारेका छन् । घर लाने कि तुलसाको मोठमा उत्तर शिर फर्काउने । तर, कुरुवा बढेका छन् । कुनै चट्याङ परेन भने वस् अब एकोहोरो शंख फुक्न बाकि छ ।
नेकपामा पदमा रहेर पनि अझ बढी आकांक्षा पाल्ने र शक्तिको लालसा अत्याधिक भएका नेता हुन बामदेव । बामदेव, बामका देव हुन नपाएको पिडाले सुरु भएको नेकपाको स्वखलित राजनीति प्रचण्डको काधमा मुत्र त्याग गरेसगै नानीको थाङना झै ढुङढुङती भएको छ । त्यही मुतेरी थाङनो अहिले धुजा धुजा भएको छ । मक्किएको छ । बामदेवको लालसा पुरा गराउने अभियानमा पुर्व माओवादका हस्तीहरुको सक्रियताले नेकपामा हिजो काँध खुइल्याएका नेताहरु आज काँध पुस्ने अवस्थामा पुगेका छन् । एक आपसको पसिना गन्हाएको महसुस गर्न थालेका छन् । शंका गर्न थालेका छन् आपसमा । डराउन थालेका छन् आफ्नै छायाँ देखेर । भित्ताका पनि कान हुन्छन्, त्यसैले घर घरमा बैठक हुन थालेका छन् गेटमै ताल्चा झुण्ड्याएर ।
नाकाबन्दी समयको भाषणलाई चुनावमा ब्याजका रुपमा पकाएका ओली यतिबेला हिजो आफैले सहिछाप गरेको जमिनी नारालाई सडकमा जनता उराल्ने माध्यम बनाउदै छन् । राष्ट्रियताको आडम्बरी ढोलमा आन्तरिक स्वरहरु दबाउने निक्रिष्ट प्रयास समेत गरिहहेका छन् । एम.सि.सि. ओलीका लागी बोकाको मुखमा कुभिण्डो समान भएको छ । संसदमा भएका थुप्रै छलफलका बिषयहरुमाथी प्रवेश नै नगरी कोरोना बहाना बनाएर संसद अन्त्य गरी दल तथा प्रतिपक्षबाट भागेका ओली अन्त्यमा राष्ट्रपतिमाथी महाअभियोग लगाउने तयारी गरेको भन्दै मन्त्रीहरुलाई कित्ता स्पष्ट गर्न निर्देशन दिएका छन् । जसरी पनि सत्ता र शक्तिको उपभोग मात्र गर्ने ओलीको लालसा पार्टी फुटको कारक बन्ने डरले नेकपाका नेता तथा कार्यकर्ता यतिबेला त्रसित बनेका छन् ।
पार्टी एकिकरणको समयमा गरेको सहमती उल्लघंनको आरोपको झ्यालीले पूर्व माओवादी नेताहरु विभाजित बनेका छन् । माधब नेपाल, झलनाथ खनाल जस्ता दह्रा नेताहरु यतिबेला पुर्नजिवित हुने आशमा पुर्व माओवादीका पछाडी उभिएका छन् । अझ भनौ प्रचण्डको पछाडी उभिएका छन् । तथापी शक्तिका उधुम भोका रहेका प्रचण्डको हिजोको जंगली वास्तविकतालाई आज कति छिटो बिर्सिएका हुन्, त्यो आश्चर्यजनक छ । तत्कालीन माओवादीमा आफ्ना विरोधी खेमा सक्न बिभिन्न नामका विचलनको पर्याय जोडेर कार्रवाही गर्ने र समकक्षी बाबुराम भट्राईलाई पार्टी कैदमा राख्ने प्रचण्डको चरित्र आज पनि साक्षी बनेर सगैं रहेको छ । एक पटक मानिसको शिकार गरेर मानव मांशको स्वाद पाएको स्याल साझ परेपछि हुइया नलगाई फेरी पनि मानव मांशकै अभिलाशा राख्दैन भन्ने हिम्मत त सायद कसैसग नहोला । परन्तु बुझ्नु र हेर्न आवश्यक यो पनि छ कि स्यालका पछि दौडिएको जमातले हुइया लगाउछ वा लगाउदैन र किन ?
बहाना जेसुकै हुन्, आरोप जस्तासुकै हुन् तर नेकपा भित्रको यो कलहको कारण कतै न कतै प्रधानमन्त्री ओलीको आडम्बरी खोक्रो राष्ट्रवाद नै हो भन्ने निश्चितप्राय छ । भारतले मिचेको भनिएको कालापानी, लिपुलेकको बिषयलाई जसरी कुटनैतिक मर्यादाबाट उठान गर्नुपर्ने हो त्यो हुन नसकेकै हो । भारतको हेपाहा र मिचाहा प्रवृति नौलो होइन । हिजो पक्ष र विपक्षको लामो लाइनमा आफू कता उभिएको थिए सायद ओलीले बिर्सिए क्यार । तर, बिरामी छन् । केटाकेटीे जस्तो हठी छन् तर पनि उनको भाग्य दह्रो प्रधानमन्त्री छन् । समय समयमा उठेका विवादका बिषयमा राजनैतिक लाभ उठाउन लालयित ओली यसपटक पनि जमिनी मुद्दालाई टिकाउको माध्यम बनाउने दाउमा थिए । तर, हात्ति जस्तो बलियो हात्ति छाप चप्पल त बन्द भइसकेको अवस्थामा ओलीको लोती करिब करिब खुस्कने अवस्थामा पुगेको छ ।
नेकपामा पदमा रहेर पनि अझ बढी आकांक्षा पाल्ने र शक्तिको लालसा अत्याधिक भएका नेता हुन बामदेव । बामदेव, बामका देव हुन नपाएको पिडाले सुरु भएको नेकपाको स्वखलित राजनीति प्रचण्डको काधमा मुत्र त्याग गरेसगै नानीको थाङना झै ढुङढुङती भएको छ । त्यही मुतेरी थाङनो अहिले धुजा धुजा भएको छ ।
राजनीति आफैमा जटिल बिषय हो । यहि जटिलताको अध्ययनमा धुरन्धर रहेका ओली आफैमा एक कुशल विद्यार्थीबाट प्रशिक्षक बनेको लामो इतिहास छ । हिजो माओवादीलाई मिलाएर विशाल नेकपा बनाउदै कांग्रेस खाने लोभी लालसा पालेका ओली यतिबेला “बाह्र बर्षमा पोई आयो मै अभागीलाई ज्वरो” भने झैं भएको छ । घात प्रतिघात, संघर्ष, हठ, र चतुर्याई सबै झेलेका र भोगेका ओली आत्मशक्ति र आत्मबलका धनी छन् । शरिरलाई मृत्युसँग त पटक पटक जिताएका ओलीले यसपटक पनि हिम्मत चै हार्दैनन् सायद । तथापी, अब ओलीका विकल्प थोरै छन् । तर सडकबाट सदन जाने र पुर्याउने दुवै हैसियत राख्ने उनले सायद कतै कतै हार्न सक्दैनन् । चाहे ति विकल्प कठिन नै किन नहुन् । फेरी फुट्नु फुटाउनु र जुट्नु जुटाउनु न त कम्युनिष्ट पार्टीमा नौलो हो, नत नेपाली राजनीतिमा ।