काठमान्डौ ६ असार ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई सरकारले पुनः आग्रह गरेको छ । बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार काठमान्डौमा सम्पन्न बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय सहित काम गर्दै जाने निर्णय समेत गरेको सीसीएमसीका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले देशैभरका क्वारेन्टिन व्यवस्थित गर्ने , स्वास्थ्य परीक्षण , आइसोलेसन केन्द्र , पीसीआर परीक्षण प्रयोगशालाको क्षमता बढाउने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।