विराटनगर ५ असार /
प्रदेश नम्बर १ मा एक सय ८५ जना कोरोना भाइरस संक्रमणका बिरामीहरु उपचाररत् रहेका छन् । चार सय १९ जना संक्रमित मध्ये दुई सय २४ जना निको भएर घर फर्केका छन् । बिरामी आउने भन्दा घर फर्कनेको संख्या बढेको छ ।
प्रदेश एकमा सबैभन्दा बढी झापामा एक सय ७८ जना संक्रमित रहेकामा १ सय २६ जना निको भएर घर फर्केका छन् भने ५२ जना उपचाररत् रहेको प्रदेश १ मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यस्तै मोरङका १ सय तीन संक्रमित मध्ये १७ जना निको भएर घर फर्के भने ८६ जना उपचाररत छन् । सुनसरीका ६२ संक्रमित मध्ये २७ जना निको भए भने ३५ जना उपचाररत् छन् ।
धनकुटाका आठ जना संक्रमित मध्ये आठै जना संक्रमणमुक्त भएका छन् । यस्तै भोजपुरका ६ जना मध्ये पाँच जना निको भए घर फर्केका छन् भने एक जना उपचाररत् छन् । यसैगरी उदयुरका संक्रमित ४७ मध्ये ३१ निको भए भने १६ जना उपचारमा छन् । खोटाङका चार जना संक्रमित मध्ये एक जना निको भए भने तीन जना उपचाररत् छन् ।
यस्तै सोलुखुम्बुका संक्रमित एक निको भएर घर फर्किसकेका छन् । तेह्रथुमका दुई मध्ये दुई जना नै कोरोना संक्रमणमुक्त भएका छन् । इलामका संक्रमित दुवै जनाको उपचार भैरहेको छ । पाँचथरका एक जना निको भएर घर फर्के भने ताप्लेजुङका तीन जना संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमणका कारण प्रदेश १ मा कसैको मृत्यु भएको छैन । यस संगै सामाजिक विकास मन्त्री जीवन घिमिरेले चाडै शुभ समाचार सुन्न पाइने जनाउ दिएका छन् ।