विराटनगर १८ जेष्ठ ।
विराटनगरको एक बालसुधार गृहमा कैद सजाय भोगिरहेका एक किशोरको मृत्यु भएको छ । ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ का १७ वर्षीय विनम सावाँ कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए । साँवा केही समयदेखि मृगौलाको समस्याबाट पीडित रहँदै आएको बताइएको छ । शनिबार उनलाई झाडापखाला र वान्ता भएपछि विराटनगरको नोबेल शिक्षण कलेजको आईसीयूमा भर्ना गरिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि विनमको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बालसुधार गृहमा उनी २०७६ पुस २६ गतेबाट कैद सजाय भुक्तान गरिरहेका थिए । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत ताप्लेजुङले उनी विरुद्ध १६ वर्ष कैद सजायको फैसला गरेको थियो ।