विराटनगर ९ जेष्ठ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकले मुख्यमन्त्री शेरधन राईलाई आगामी बजेट र कार्ययोजना सहितको अवधारणा पत्र बुझाएको छ । शुक्रवार महासंघले बुझाएको अवधारणा पत्रमा आर्थिक वर्ष २०७७-७८ को बजेटमा रोजगारीको अवसर सृजना गर्ने गरि बजेट ल्याउन प्रदेश सरकारसमक्ष माग गरेको छ । महासंघका उपाध्यक्ष राजेन्द्र राउतले मुख्यमन्त्री राईलाई पत्र बुझाउदैं कोभिड १९ को महामारीसंगै सरकारले आउँदो बजेटमा देशभित्र र बाहिर रोजगारी गुमाएकालाई ब्यवस्थापन गर्न र रोजगारका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
यस्तै महासंघले प्रदेश सरकारसमक्ष लगानीका सम्भावित क्षेत्र पहिचान गरी नीजि क्षेत्रका लगानीकर्ताहरु संग साझेदारी अवधारणा तय गर्न समेत आग्रह गरेको छ । यस्तै रोजगारी सृजनाका लागि कृषी तथा पशुपालनलाई प्राथमिकतामा राख्न माग गरेको छ ।