विराटनगर,२३ चैत /
विराटनगर महानगरपालिकाले लकडाउनवाट प्रभावित भएका नगरबासीहरुलाई आइतवारवाट राहत बितरणको कार्य शुरु गरेको छ ।
नगरमा वसोवास गर्ने विपन्न, सुकुम्वासी, अपाङ्ग, दैनिक श्रमिक लगायतका न्यून आय भएका २६ हजार नागरिकहरुलाई खाद्यान्न राहत वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।
वितरण गरिएको खाद्यान्नमा १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, ५सय ग्राम तोरीको तेल, एक किलो नुन र एउटा सावुन रहेको छ । महानगरपालिकाले वडा नं १ मा १ हजार ४६ जना , वडा नं. ३ मा ३ सय ५७ र ४ मा १ हजार ३ सय ३९ जनालाई राहत वितरण गरेको छ ।
सो अवसरमा महानगरपालिकाका प्रमुख पराजुलीले नगरवासीहरुको दुःखको बेलामा सदैव साथ रहने बताउदै कसैलाई भोकभोकै वस्नु र सुत्नु पर्ने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
वडा कार्यालय र वडा विपद व्यवस्थापन समितिले संकलन गरेको नामावलीलाई महानगरपालिकाले प्रमाणित गरी वडाको नागरिक वा वसाईसराईको पत्रको आधारमा राहत वितरण गरिएको थियो ।आगामी तीन दिन सम्ममा महानगरपालिकाको १९ वटै वडामा राहत वितरण कार्यक्रम गरिने महानगरले जनाएको छ ।
वडा नं १ का वडाध्यक्ष उद्धव अर्यालले वडामा वितरणका कार्यहरु भइरहेको जानकारी दिए । वडा नं ३ का वडाध्यक्ष बिनोद बस्नेतले वडाका विभिन्न स्थानमा वितरणको काम भइरहेको सोमवार सम्म पूर्णरुपमा वितरण गरिसक्ने जानकारी दिए । वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले वितरण कार्य सकिएको जानकारी दिए । वडाको जनजीविकाका विषयमा डाटा संकललन गरिरहेको र अवस्था सामान्य रहेको जानकारी दिए ।