विराटनगर , ६ चैत्र ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवस बिहिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश , मोरङ जिल्ला तथा विराटनगर समितिले सम्युक्तरुपमा विविध कार्यक्रम गरेको हो । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली अर्पण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष सुधिर रेग्मी ,मोरङ जिल्ला अध्यक्ष राजकुमार मण्डल र विराटनगरका नगर अध्यक्ष प्रविन जोशी ,नेपाली कांग्रेसका युवा नेता अरुण न्यौपाने, फाउण्डेसन मोरङका संस्थापक अध्यक्ष कौशल निरौला लगायतले अस्पतालका १ सय ५० जना विरामीहरूलाई फलफूल वितरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस नेतृ लिला ढुङ्गेल, फाउण्डेसन जिल्ला सह-सचिव अनुराग पाठक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता भीम पराजुलीले गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा रहेका बताए । उनले गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको भन्दै उनको स्मरण गरे ।‘गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोईरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो’, उनले भने, ‘त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोईराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने शाहस उहाँको उदाहरणीय छ ।’