विराटनगर,२ फाल्गुन । समृद्ध समाज नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता कला डाँगीले किशोरीहरुलाई आत्मारक्षाको लागि सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताएकी छन् । डाँगी अध्यक्ष भएको संस्थाले अहिले विराटनगरका किशोरीहरुलाई आत्मारक्षाको लागि सेल्फ डिफेन्स तालिम दिइरहेको छ । विराटनगरमा बिहिबारबाट चलेको तीन दिने महिला सेल्फ डिफेन्स तालिममा १३ वटा विद्यालयका १ सय किशोरीहरु सहभागी भएका छन् ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । संस्थामार्फत अझै धेरै कार्यक्रम किशोरीमाझ लाने अध्यक्ष डाँगीले जानकारी दिइन् । किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा लाग्नुपर्नेमा उनले जोड दिइन् । तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन उनले आग्रह गरिन् ।
तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरेका थिए । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मारक्षा र हिंसा रोक्नको लागि प्रदेशभरी यस्तो कार्यक्रम सुरु हुने बताए । तालिमको प्रशिक्षकहरुमा सुजता बस्नेत, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आएका प्रहरी निरीक्षकको टोली रहेका छन् ।