मोरङ,२७ माघ । मोरङको सुन्दरहरैँचामा विराट एक्स्पो हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने यो एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म सुन्दरहरैँचा–१० स्थित विराटचौकमा हुनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका संयोजक एवं सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भोलेश्वर दूलालले नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो आयोजना गरिएको जानकारी दिए । उनका अनुसार आठवटा सार्वजनिक शौचालय निर्माणको लागि १५ करोड ६२ लाखको डिपीआर तयार भएको छ । हालसम्म विराटचौक र सलकपुरमा दुईवटा शौचालय सञ्चालनमा आइसकेका छन् भने खोर्साने र हरैँचामा निर्माणको अन्तिम चरणमा पुगेका छन् । बाँकी चारवटा शौचालय निर्माणका लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको हो । बाकी बन्ने शौचालयहरुमा बलियाचौक,गछिया,गोठगाँउ र मृगौलिया रहेका छन् । यसको जम्मा लागत १५ करोड ६५ लाख हुन आउने संयोजक दुलालले जानकारी दिए ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले एक्स्पो आयोजनामा ४ करोड रुपैयाँ खर्च हुने र करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताए । एक्स्पोमा १९४ वटा स्टल रहनेछन्, जसमध्ये औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा पेभिलियन समावेश छन् ।