विराटनगर ,९ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्तासाझेदार दलहरुले संझौता अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने,नेपाली कांग्रेस र नेकपा एमालेको दुईतिहाइको सरकार छ । सात बुदे संझौता पनि भएकै छ ,तर काम भने जसरी अगाडि बढ्नु पर्ने थियो बढेको छैन ।
विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले सत्तागठवन्धनले द्रुतरुपमा काम गर्न नसकेको बताए । यस्तै कोइरालाले अध्यादेशबाट देश चल्नु राम्रो नभएको बताए । उनले भने यस्ता कुराको विरोध गर्नुपर्छ ।
अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप भएको टिप्पणी गरे । ‘अब त १८ गते संसद बोलाइसकियो । त्यो आफ्नो ठाउँमा भयो । तर, अध्यायदेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नुहुन्न । त्यो गलत कुरा हो’, नेता कोइरालाको भनाइ छ ।
उनले भने प्रधानमन्त्री ओलीजी सरकारबाट नभइ संयन्त्रबाट देश चलाउन खोज्दै हुनुहुन्छ,यो सरासर गलत हो । पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले दुई ठूला दल मिलेर बनेको सरकार तत्काल परिवर्तन नुहुने बताए । उनले भने हल्लाहरु धेरै चल्छन्,मलाई लाग्दैन सरकार परिवर्तन हुन्छ ।