विराटनगर,१ माघ । भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ भेला प्रयागराजमा सुरू भएको हो।
त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर प्रदेश सरकारको प्रशासनिक क्षमताको परीक्षाका रूपमा लिइएको छ।
कुम्भ मेला महाशिवरात्रीका दिन समापन हुनेछ। यसपालि कुम्भ मेलामा ४० करोड श्रद्धालु सहभागी हुने उत्तर प्रदेश सरकारले दाबी गरेको छ।
कुम्भ मेलाका कारण संगमस्थल र सम्पूर्ण प्रयागराज यतिबेला श्रद्धालु, सुरक्षाकर्मी र सफाइकर्मीले भरिभराउ छ। सुरक्षालाई मध्यनजर गरी ठाउँठाउँमा सुरक्षा चेकिङ, ड्रोन, बम निरोधक दस्ताका साथै राष्ट्रिय सुरक्षा गार्ड (एनसजी) परिचालन गरिएको छ।
समुद्रमन्थनको पौराणिक कथा
भागवत पुराणका अनुसार देवता र राक्षसहरूले मिलेर समुद्रमन्थन गर्दा धेरै चिज प्राप्त भए। अन्त्यमा अमृतको कुम्भ (कलश) निस्कियो, जसलाई देवताहरूले चलाखीपूर्वक आफ्नो कब्जामा लिए। राक्षसहरूले भगवान् विष्णुको वाहन गरुड अमृतको कुम्भ लिएर भागेको चाल पाएपछि विवाद बढ्यो। भागदौड भयो। घडा तानातान भयो। यस क्रममा अमृतको घडाबाट चार थोपा पृथ्वीका चार स्थानमा खसे- प्रयागराज (इलाहाबाद), हरिद्वार, उज्जैन र नासिक। यी चारै स्थानमा कुम्भ मेला आयोजना गरिन्छ। यस्तो मेला प्रत्येक १२ वर्षमा सूर्य, चन्द्रमा र बृहस्पतिका विशेष ज्योतिषीय स्थितिहरूसँग मेलाएर मनाइन्छ।
प्रयागराजको विशेष महत्त्व त्यहाँका तीन पवित्र नदीहरूको संगमका कारण छ- गंगा, यमुना र पौराणिक सरस्वती। यसलाई त्रिवेणी संगम भनिन्छ। हिन्दु धार्मिक मान्यताअनुसार यो स्थान आध्यात्मिक शक्तिकेन्द्र हो। यस कथा र स्थानको आध्यात्मिक महत्त्वकै कारण कुम्भ मेलाले धार्मिकता, परम्परा र आस्थाको अनुपम संगमलाई उजागर गर्दछ।