पोखरा, २१ पुस । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेका तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक बहस गर्दै छन् । जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि लामिछानेका तर्फबाट कानुन व्यवसायीहरूले थुनछेक बहस गर्न लागेका हुन् ।
यसअघि सोही प्रकरणमा पूर्वडिआइजी छविराज जोशी र लिला पछाईँका तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ र उनकी छोरी एमाले नेत्री एवं गण्डकी प्रदेश सभाकी पूर्वसांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी रहेको छ ।
यसैबीच, लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरूले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन् ।
सहकारी पीडितहरूले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरूले आफ्नो बचत रकम नपाउने परिस्थिति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए ।
अहिले लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरूले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून व्यवसायीहरूले बताउँदै आएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलासमा बहस चलिरहँदा उनका शुभचिन्तकहरू भने सर्वासाधारणले रकम उठाएर भए पनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन् । अर्कातिर लामिछानेलाई जसरी पनि जेलमा कोच्ने गरी अदालतमा बहस गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री जिता बरालले ती कानून व्यवसायीहरूप्रति आक्रोश पोखेकी छिन् ।