Birat Post बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

पर्यटन व्यवसायी तथा समाजसेवी दिलकुमार घमालको नेतृत्वमा रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हालै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा सम्पन्न प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको भलिबल प्रतियोगिता भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको अध्यक्ष घमाल बताउनुहुन्छ । प्रतियोगिताले आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । विगत साढे दुई दशकदेखि इन्स्ब्रुकमा पर्यटन व्यवसाय गर्दै आउनुभएका एनईएससीका (नेपाली युरोपियन खेलकुद संघ, अष्ट्रिया) का अध्यक्ष घमालसित भलिबल प्रतियोगिता सम्पन्न गर्दाका अनुभव, आगामी योजनालगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सार–

हालै मात्रै एनईएससीको आयोजनामा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ, आयोजक संस्थाको अध्यक्षका नाताले प्रतियोगितालाई कसरी लिनु भएको छ ?
सन् २०२० मा स्थापना भएदेखि नै नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले केही न केही गतिविधि गरिरहेको छ । यस संस्थाले दोस्रोपटक अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ । यो प्रतियोगिता सम्पन्न गर्नका लागि हामीले लामो समयदेखि मेहेनत गरेका थियौं । हामीले गरेको मेहेनतअनुसार प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न भएको छ । एनईएससीका सम्पूर्ण पदाधिकारी, सदस्य, सल्लाहकार र शुभेच्छुकहरूको साथ, सहयोगका कारण भलिबल प्रतियोगिता भव्य भएको मैले ठानेको छु । यहाँको एउटा संस्थाले यही नोभेम्बर १७ तारिखमा भव्य कार्यक्रम गर्दैछ । हाम्रो संस्थाको कार्यक्रम देखेर नोभेम्बर १७ को कार्यक्रममा हाम्रो संस्थाका सबैलाई निमन्त्रणा आएको छ । प्रतियोगितामा प्रमुख अतिथिका रुपमा अष्ट्रियाका राजदूत भरतकुमार रेग्मी आइदिनुभयो । उहाँलगायत कार्यक्रममा उपस्थिति हुनुहुने सबै अतिथि, खेलाडी, कलाकार, दर्शक सबैलाई धन्यवाद पनि दिन चाहन्छु ।

तपाईंहरू विदेशमा विभिन्न व्यवसाय गरेर बस्नुभएको छ । यस्ता प्रतियोगिता गर्न समय र खर्च दुवै लाग्दछ । समय र खर्चको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
युरोपमा धेरै नेपालीहरू हुनुहुन्छ । उहाँहरू कोही रोजगारी गर्नुहुन्छ भने कोही आफ्नै व्यवसायमा आबद्ध हुनुहुन्छ । म पनि विगत साढे दुई दशकदेखि अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा पर्यटन व्यवसाय गरेर बसेको छु । यहाँ युरोपका अन्य सहरमा जस्तो धेरै नेपाली समुदाय हुनुहुन्न । यहाँ थोरै संख्यामा नेपाली समुदाय हुनुहुन्छ । उहाँहरु सबैमा केही गरौं भन्ने भावना छ । नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै नेपाली कला र संस्कृतिलाई पनि प्रचार गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । जहाँसम्म समय र खर्चको कुरा छ त्यो आँट गरेपछि आपसेआप मिल्दो रहेछ । भगवानले पनि ‘तँ चिता म पूरा गर्छु’ भन्छन् रे । कुनै पनि कार्य गर्नका लागि आँट चाहिँदो रहेछ । हामीले आँट गरेर यसपटक भव्य रुपमा दोस्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न गरेका छौं ।

प्रतियोगितामा कुन–कुन देशले जित हासिल गरे ?
यसपटकको प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । उसले नगद ३ लाख ९० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै जर्मनी द्वितीय भयो । उसले पनि १ लाख ९० हजारका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्न सफल भयो । प्रतियोगितामा आयोजक एनईएससी तेस्रो हुँदा स्वीजरल्याण्ड चौथो र एनईएससी वी पाँचौं भयो । आयोजक टिमका क्याप्टेन ख्याम विक र खेलाडी आङकामी लामा घाइते भएका कारण उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसारको नतिजा निकाल्न सकिएन । यदि ख्याम र आङकामी घाइते नभएको भए हामीले नै उपाधि जित्ने सम्भावना थियो । तर उपाधि हामीले नजिते पनि भव्य रुपमा प्रतियोगिता सम्पन्न भएकोमा अत्यन्तै खुसी भएका छौं । यस्तै प्रतियोगिताका कारण एनईएससीको नाम युरोपभरि फैलिएको छ । स्थानीयबासीले पनि एनईएससीलाई अत्यन्तै सम्मानका साथ हेर्नुहुन्छ ।

भलिबल प्रतियोगितासँगै अन्य के–के कार्यक्रम थिए ?
भलिबल प्रतियोगितासँगै कार्यक्रमलाई आकर्षक र रोचक बनाउन सांस्कृतिक कार्यक्रम पनि राखेका थियौं । सो कार्यक्रममा कलाकारहरूले विभिन्न नेपाली गीतमा नृत्य र गीत प्रस्तुत गर्नुभएको थियो । जसले गर्दा प्रतियोगिताको गरिमालाई थप बढाएको मैले महसुस गरेको छु । यसले नेपाली कला र संस्कृतिको प्रचारप्रसार हुनुका साथै भलिबल खेलको समेत प्रवद्र्धन भयो भन्ने मैले ठानेको छु । आगामी दिनमा यस्ता सांस्कृतिक कार्यक्रमलाई अझै व्यापक बनाउने लक्ष्य राखेका छौं ।

विगतको प्रतियोगिता र यसपटकको प्रतियोगितामा केही फरक पाउनुभयो ?
एनईएससीले विगतमा पनि भलिबल प्रतियोगिता आयोजना गरेको थियो । पहिलाकोे भन्दा यसपटकको प्रतियोगिता धेरै नै व्यवस्थित र भव्य भयो । किनभने पहिलोपटक गर्दा प्रतियोगितासम्बन्धी अनुभव कम थियो । कुनै पनि कुरा सिक्दै जाने हो । पहिलो प्रतियोगिताको सिकाइबाट दोस्रोमा काम लाग्यो । अब तेस्रो प्रतियोगिता गर्दा दोस्रो प्रतियोगिताका राम्रा पक्षको अनुशरण गर्दै नराम्रा पक्ष र कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्दछ ।

एनईएससीले प्रतियोगिता आयोजनाबाहेक अन्य के काम गर्दछ ?
‘स्वास्थ्यका लागि खेलकुद : आपसी एकता र भाइचाराका लागि प्रतियोगिता’ भन्ने एनईएससीको नारा नै रहेको छ । मानिस स्वस्थ हुनका लागि खेलकुद अनिवार्य छ । भलिबल मात्रै नभएर जुनसुकै खेलकुदमा आबद्ध व्यक्तिहरू अन्य व्यक्तिहरूको तुलनामा स्वस्थ हुन्छन् । खेलकुदले स्वस्थ जीवनयापनसँगै मानिसलाई अनुशासित पनि बनाउँछ । खेलकुदले आपसी एकता र भाइचारा अभिवृद्धि गराउँदछ । आर्थिक र आणविक रुपमा जतिसुकै शक्तिशाली मुलुक भए पनि खेलकुदका माध्यमबाट परास्त गर्न सकिन्छ । अमेरिकाजस्तो शक्तिशाली मुलुकलाई कमजोर मुलुकले खेलका माध्यमबाट परास्त गरेका थुप्रै उदाहरणहरू पाउन सकिन्छ । एनईएससीले विभिन्न मुलुकमा हुने प्रतियोगितामा समेत सहभागिता जनाउने गरेको छ । यसबाहेक बेलाबेला वनभोज, विभिन्न चाडपर्वमा शुभकामना आदानप्रदानलगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

प्रतियोगिता सम्पन्न भइसकेपछि बाहिरबाट आएका टिम, अतिथि र दर्शकको कस्तो प्रतिक्रिया पाउनुभयो ?
प्रतियोगिता सम्पन्नपछि स्थानीय जयपुर रेष्टुरेन्टमा सांस्कृतिक प्रस्तुतिसहितको रात्रीभोजको आयोजना गरिएको थियो । जहाँ दोहोरी साँझसमेत भएको थियो । दोहोरी साँझले आमन्त्रित प्रमुख अतिथि, अतिथि र खेलाडीलाई भरपूर मनोरञ्जन दिएको मैले पाएको छु । बाहिरबाट आउनु भएका खेलाडीहरूले त यस्तो प्रतियोगितामा पहिलोपटक सहभागी भएको भन्ने प्रतिक्रिया दिनुभयो । अतिथि र दर्शकबाट पनि हामीले अपार माया पायौं । भलिबल प्रतियोगिता अविस्मरणीय र ऐतिहासिक भएको भन्दै धेरै दर्शकले प्रतिक्रिया दिनुभयो । खेलाडी, दर्शक, अतिथिहरूबाट प्राप्त प्रतिक्रियाले सिंगो एनईएससी निकै उत्साहित भएको छ ।

एनईएससीको आगामी योजना के छन् ?
तत्कालका लागि त्यस्तो कुनै योजना छैनन् । सधैं संस्थाको पछि कुद्ने कुरा पनि आउँदैन । व्यवसाय र परिवार पनि हेर्नुपर्छ । तर पनि एनईएससीलाई चलायमान बनाउन बेलाबेला कुनै न कुनै कार्यक्रम त गर्छौं नै । वर्षमा एकपटक भव्य रुपमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने योजना छ । त्यसबाहेक नेपाली समुदायलाई एकताबद्ध बनाउन र आपसी भाइचारा अभिवृद्धि गर्न वनभोजसहित शुभकामना आदानप्रदान कार्यक्रम गर्नेछौं ।

अब अलिकति प्रसंग बदलौं, तपाईं साढे दुई दशकदेखि इन्स्ब्रुकमा पर्यटन व्यवसाय गर्दै आउनुभएको छ । अहिले कस्तो चल्दैछ व्यवसाय ?
कोभिड–१९ को महामारी नसकिँदै रुस–युक्रेन युद्धका कारण यहाँका सबैजसो व्यवसायमा मन्दी आएको छ । सबैतिर आर्थिकमन्दी छ । व्यवसाय चलायमान छैन । भएका व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता छ । धेरै व्यवसायीहरू व्यवसायबाट पलायन भएका छन् । तर पनि हिम्मत हार्ने अवस्था छैन । विगतमा भन्दा केही सुधार चाहिं आएको छ । तर अझै पनि उत्साहित हुने अवस्था सिर्जना भइसकेको छैन ।

विदेशमा पनि आर्थिकमन्दीले समस्या छ भन्छन् तर नेपाली युवाहरू विदेश पलायन हुने क्रम रोकिएको छैन । यसमा तपाईं के भन्नुहुन्छ ?
यो सबै नेपालको राजनीतिक अवस्थाले गर्दा भएको हो । मर्छु भन्ने जान्दाजान्दै पनि नेपाली युवाहरू रुसी सेनामा भर्ति भइरहेको समाचारहरू आइरहेका छन् । युद्धमा परेर धेरै युवाहरूको मृत्यु भएको पनि सुनिन्छ । अहिलेका राजनैतिक दलका नेता र कर्मचारीको काम गर्ने शैलीले देश बन्दैन । उनीहरू देश बनाउने भन्दा आफू र आफन्त बनाउनेमा लागेका छन् । हरेक नेताहरू सत्तामा पुग्ने र व्यक्तिवादी सोचले ग्रस्त छन् । जबसम्म व्यक्तिवादी सोचबाट नेतृत्व बाहिर निस्कँदैन तबसम्म देश बन्दैन । नेपालमा दिनानुदिन भ्रष्टाचार बढिरहेको छ । विकासका काममा गुणस्तर छैन । श्रमको मूल्य छैन । यस्तो वातावरणमा को चाहिं बस्छ नेपालमा ? युवाहरू विदेश पलायन जुन रुपमा भइरहेका छन् त्यसलाई मैले स्वभाविक रुपमा लिएको छु । युवाहरू जहिले पनि भविष्यको चिन्तामा हुन्छन् । उनीहरूको अवसरको खोजीमा हुन्छन् । देशभित्र भविष्य नदेखेपछि र अवसर नपाएपछि स्वभाविक रुपमा उनीहरू विदेश पलायन हुन्छन् । अहिले नेपालमा त्यही भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल