Birat Post शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

महोत्तरी,११ साउन ।  कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ। श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन्।

यो पर्वमा बर्तालु र उनका सखी सुन्दर वस्त्रमा सजिएर सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधि खास मानिन्छ। पर्वभर सामूहिक रूपमा गीत गाउँदै ‘फूललाेढी’मा निस्केका मिथिलानीहरूबीच नयाँघरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ।

पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिक रूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भनिन्छ। यो पर्वमा भगवान् शंकर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ।

पर्वको प्रारम्भ आत्मशुद्धि र व्रत संकल्पबाट हुन्छ। बर्तालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइधुवाइ गरेर शुद्ध हुन्छन्। पर्वभर चोखो भोजन गरिन्छ। घरकी जेष्ठ महिला सदस्यले बर्तालुलाई पर्वका विधि सिकाउने गर्छन्। सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भएपनि यस अवधिभरिको वस्त्र र खाद्यान्नभने पतिले नै पुर्‍याइ दिनपर्ने चलन छ।

पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरु एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन्। सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर फूललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिँड्ने जोसुकैको मन खिच्ने गर्छ। यो नै पर्वको मुख्य आकर्षण हो।

‘नवविवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाले ‘फूललोढी’ मा निस्केका मिथिलानीका रागात्मक भावका गीतले सबैलाई रोमाञ्चित गराउँछ,’ मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा बताउँछन्।

विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ। पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनेको मिथिलानी बताउँछन्।

शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन्। यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ। रासस

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल