विराटनगर,१२ असार । अविरल वर्षाका कारण पूर्वी तराइका क्षेत्रहरु डुवानमा परेका छन् । जस अन्तरगत सवै खोला तथा नहरहरुमा पानिको बहाव वढेको छ । प्रशासन र स्थानिय तहले उच्च सतर्कता अपनाउन नागरिकलाई आह्वान समेत गरिसकेका छन् । विराटनगरका अधिकांश स्थान डुवानमा परेको छ । विराटनगर महानगरले उच्च सतर्कता अपनाउन र समस्या परे तत्काल जानकारी गराउन भन्दै आग्रह गरेको छ ।
महानगर सचिवालयद्वारा प्राप्त सूचनामा भनिएको छ , अविरल वर्षापछिको डुबान र बाढीका कारण विस्थापितको उद्दार राहत वितरणसहितको समग्र जानकारीका लागि महानगरपालिका सूचना अधिकृत अनिता न्यौपाने 985-2081048,द्रुत प्रतिकार्य टोलीका संयोजक-अर्जुन थपलिया 985-2030010,सहसंयोजक पुनमकुमार दाहाल- 985-2022729, नगर प्रहरी प्रमुख राजन पौडेल 984-2058936, लगायतलाई सम्पर्क राख्न सकिने छ ।
यस्तै सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खोलामा पनि पानिको प्रवाह वढेको छ । मंगलबार मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो ।
बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्थानीयले उनलाई उद्दार गरेका थिए ।
बाढीले सुन्दरहरैंचा ५ कि ३५ वर्षीया फुल कुमारी चौधरी , ६० वर्षीया अफसरा चौधरी र एक जना पुरुषलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । खोलामा बाढी आएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुन्दरहरैंचाका नगर प्रमुख केदार प्रसाद गुरागाईँले घटना प्रति दुख व्यक्त गर्दै उचित राहतको व्यवस्था गर्ने बताएका छन् । घटनामा मृत्यु हुने र बेपत्ता हुने एकै परिवारको रहेको बुझिएको छ । स्थानिय पालिका र प्रशासनले उद्दारका लागि सवै खाले तयारीमा रहेको जनाएको छ ।