विराटनगर,३२ जेठ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर मारवाडी महिला मञ्च विराटनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा २६ जनाले रक्तदान गरेको मञ्चकी उपाध्यक्ष मिलन नौलखाले जानकारी दिइन् ।
स्थानीय जैन स्वेताम्बर तेरापंथी भवन परिसरमा गरिएको कार्यक्रमको प्रमुख अतिथ्यता विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन् । कार्यक्रममा बोल्दै उपमेयर कार्कीले मारवाडी समुदायका महिलाहरुको सक्रियतामा पछिल्ला समय भइरहेका सामाजिक कामहरुको प्रशंसा गरेकी थिइन् ।
उनले रक्तदाता दिवसको अवसरमा भइरहेको रक्तदान कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताइन् । रगतको अभावलाई टार्न हुने यसखालका कार्यक्रमले मानवीय जीवन जोगाउने बताइन् । सामाजिक क्षेत्रका कुनैपनि पाटोमा काम गर्न इच्छुक नगरवासीलाई महानगरको पूर्ण सहयोग रहने बताइन् ।
सरिता लालवानी अध्यक्ष रहेको मञ्चमा मिलन नौलखा,अमिता पेडिवाल,विन्दू अटल,बर्तिका खेतान लगायतको टिमले विभिन्न सामाजिक काम गरिरहेको छ । कार्यक्रममा मञ्चकी संस्थापक अध्यक्ष विमला लालवानी ,संस्थापक मुलचन तापडिया, सल्लाहकार सुनिता शर्मा, तेरापंथ युवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानी,पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।