Birat Post मंगलबार, जेठ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ जेठ । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय राजेन्द्र पराजुलीसहित १ नम्बर वडा अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिश्चन्द सहनी, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी र १९ का श्याम घिमिरेसमेतको उपस्थितिमा भएको कार्यक्रममा नागरिक समूहका अगुवा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यमा महानगरवासीले महसुस गर्ने गरी कार्य भइरहेको बताउनुभयो । उहाँले उपभोक्तामैत्री नीति तथा कार्यक्रम बनाउन सुझाव दिनुभयो । भण्डारीले बजार अनुगमनलाई तीव्रता दिई उपभोक्ता ठगिनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले महानगरले उल्लेखनीय मात्रामा बेरुजु घटाउनु महानगर नेतृत्व सुशासनमा सफल भइरहेको संकेत मिलेको तर्क गर्नुभयो । उहाँले भौतिक विकास भए पनि हरियाली बनाउने सन्दर्भमा प्रगति भइनरहेको बताउनुभयो । ढुंगेलले वृक्षारोपणलाई व्यापक बनाउनुपर्ने, महानगर मातहतका सबै स्वास्थ्य केन्द्रहरूमा औषधि उपलब्ध गराउनुपर्ने, कम विद्यार्थी संख्या भएका विद्यालयलाई मर्च गर्न सुझाव दिनुभयो ।

महानगरको ‘उज्यालो विराटनगर’ अत्यन्तै प्रभावकारी भएको उहाँले चर्चा गर्नुभयो । ‘पछिल्ला केही वर्षयता विराटनगरमा धेरै राम्रा कार्यहरू भइरहेका छन् । राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,’ ढुंगेलले भन्नुभयो, ‘सुशासनको महसुस भएको छ । मुख्य सडकमा राति हिंड्दा मोटरसाइकलमा लाइट नबाली पनि हिंड्न सकिन्छ । विकास भनेको एकैचोटि हुने होइन । अस्ति बुटवलबाट आफन्त आउनु भएको थियो । विराटनगरको सरसफाई र उज्यालो देखेर खुसी हुनुभयो । विराटनगर धेरै परिवर्तन भएछ भन्नु भयो ।’

अभियन्ता उद्धव केसीले फुटपाथ नियन्त्रण गर्नुपर्ने, सडकमा निर्माण सामग्री राख्न रोक लगाउनुपर्नेलगायतका सुझाव दिनुभएको थियो । त्यस्तै राजनैतिककर्मी नेपाली कांग्रेस वडा नम्बर ६ का सभापति राम ढकालले सडकको पार्किङ निषेधको निर्णयबाट महानगर किन पछि हट्नु पर्‍यो भनेर प्रश्न गर्नुभयो । उहाँले केशलिया खोलाको छेउछाउमा माटो कटान भइरहेको, डुबान नियन्त्रण, केशलिया खोलामा फोहोर थुपार्न रोक लगाउन आग्रह गर्नुभयो । केशलिया खोला छेउमा विराटनगरको फोहोर थुपार्दा स्थानीयलाई समस्या भएको उहाँको भनाइ थियो ।

त्यस्तै युवा नेता उद्धव कोइरालाले महानगरपालिका सामान्य कुरामा अल्छिनु नहुने बताउनुभयो । उहाँले कोशी अस्पताल र उद्योगहरूको अनुगमन गरी बिरामी र मजदुरको अवस्था बुझ्न सुझाव दिनुभयो । समाजसेवी सुगल भट्टराईले परोपकार घाटमा सोलार लाइट जडान गर्न र गुद्रीमा विषादी परीक्षण मेसिन राख्न सुझाव दिनुभयो । भरतप्रसाद खरेलले विराटनगर-४ को खार्जी पश्चिम श्रीलंकाको टापुजस्तै भएको गुनासो गर्नुभयो । उहाँले सो क्षेत्रमा हुने डुवान नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभयो ।

नेकपा एमालेका युवा नेता नवराज काफ्लेले मासु व्यवसायीले खसी र कुखुरा काटेर त्यसको फोहोर नालीमा फ्याल्ने गरेको बताउनुभयो । उहाँले सडकमा जेब्राक्रस बनाउनुपर्ने, शैक्षिण गुणस्तरमा ध्यान दिनुपर्ने, भौतिक पूर्वाधारको निर्माण गर्दा गुणस्तरमा ख्याल गर्नुपर्ने सुझाव दिनुभयो । सडक बत्तीहरू कम गुणस्तरको हुँदा चाँडै बिग्रिने गरेको गुनासो गर्नुभयो । युवा अभियन्ता प्रितम साहले युवा लक्षित कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो । अञ्जु रिजालले बालबालिका केन्द्रित कार्यक्रमहरू ल्याउनु जरुरी रहेको विचार राख्नुभयो । राधेश्याम घिमिरेले जामुनगाछी-केशलिया सडक छिटो निर्माण गर्न सहजीकरण गर्नुपर्ने, नहरको सरसफाईलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको थियो । राजुचन्द्र दाहालले कार्यालयको काम सुरु हुनुभन्दा अघि र विद्यालयमा पढाइ सुरु हुनुअघि कम्तीमा १० मिनेट ध्यान सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनको बाबजुद विराटनगरवासीको विकास र समृद्धिको चाहना परिपूर्ति गर्न लागि परेको बताउनुभयो । उहाँले भौतिक विकासका साथसाथै शिक्षा र स्वास्थ्यलाई पनि उच्च प्राथमिकता राखेर काम गरिरहेको सुनाउनभुयो । हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेको मेयर कोइरालाको भनाइ थियो । उहाँले दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ ग्राभेल, १ सय ५२ वटा कल्भर्ट निर्माण गरेको जानकारी दिनुभयो । मेयर कोइरालाले १ सयभन्दा बढी घरमा नगर प्रहरीले सर्प समातेर सम्बन्धित ठाउँमा व्यवस्थापन गरेको, उज्यालो विराटनगर अभियान जारी राखेको, नाला, ढल र पैनी सरसफाई अहिले पनि भइरहेको, बरगाछी-रानी सडकको सौन्दर्यकरण अभियान सुरु गरिएको, दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेको । रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स-रेलगायतका सुविधा थप गरिएको जानकारी दिनुभयो ।

१९ वटै वडामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ५ हजार २२ जनाले स्वास्थ्य लाभ लिएको, विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको, मोतियाबिन्दु पहिचान भएकालाई तत्कालै शल्यक्रियाको व्यवस्था मिलाइएको, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर-घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको, निःशुल्क एम्बुलेन्स सेवासँगै नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगतसमेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

बेरुजुलाई शून्यमा झार्ने लक्ष्यअनुसार गत वर्षसम्मको कुल बेरुजु २३ करोड ८३ लाखको सम्परीक्षण गरिँदा कुल अंकको १ दशमलव ०३ प्रतिशत मात्रै बेरुजु आएको उहाँको भनाइ थियो । बेरुजु कम निस्कने पालिकामध्ये विराटनगर मोरङको पहिलो पालिका भएको उहाँले बताउनुभयो । शिक्षाको गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयका प्रअहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको समेत उहाँको भनाइ थियो । त्यस्तै सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने कार्य पनि जारी रहेको मेयर कोइरालाले सुनाउनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको दाबी गर्नुभयो । उहाँले नियमित विद्यालय, सहकारी र विकास निर्माणको अनुगमन गरिरहेको, न्यायिक समितिमार्फत जनतालाई छिटोछरितो न्याय सम्पादन गरिरहेको सुनाउनुभयो । उपमेयर कार्कीले महानगरले भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सीमित बजेट हुँदा पनि महानगरले धेरै कार्य गरेको दाबी गर्नुभयो । उहाँले सबै वडामा अधिकृतस्तरका सचिव खटाएर धेरै काम वडा तहबाटै सम्पादन गरिरहेको जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल