विराटनगर,३० फाल्गुन / विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक वडामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट रोगको पहिचान भई समयमै उपचार हुँदा बिरामी चाँडै निको हुने गरे गरेको छ । स्वास्थ्य शिविरको मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिए । महानगरले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उनको भनाइ थियो ।
विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर, प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, आँखा, कान, दन्त, फिजिसियनलगायतका सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिए । शिविरमा आएका बिरामीलाई नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो । सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्र साहलगायतले वडावासीलाई सहज होस् भनेर नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए । महानगरले गत वर्ष पनि १९ वटै वडामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा झण्डै ५ हजार व्यक्तिले स्वास्थ्य चेकजाँच गराएका थिए । यस वर्ष पनि महानगरले १९ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।