विराटनगर,२० फाल्गुन ।
नेपाल भारतको सास्कृतिक अन्तरसम्वन्ध विषयक भारतको गोरखपुरमा भएको तीनदिने सेमिनारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सहभागिता जनाएका छन् ।
महायोगी गोरखनाथ विश्वविद्यालय एवम महाराणा प्रताप महाविद्यालय गोरखपुरद्वारा आयोजित भारत-नेपाल सांस्कृतिक अन्तर्रसम्वन्धोकी विकास यात्रा : अतित से वर्तमान तक विषयक तीन दिवसीय अन्तराष्ट्रिय सङ्गोष्ठीमा पराजुलीले नेपाल ,भारतवीचको सम्वन्धका विषयमा आफ्ना धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै नेता पराजुलीले रोटिवेटीको सम्वन्ध,धार्मिक ,सांस्कृतिक सम्वन्ध,भाषा र भेषको सम्बन्धलाई कायम राख्दै अझ एक अर्काबीचमा विश्वास र सद्भावना बढाउनुपर्ने बताए । नेता पराजुलीले सभ्यताको सुरुवात देखि पौराणिक कालसम्मको नेपाल भारत सम्वन्ध आर्थिक एवं अन्य विविध पक्षमा उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे । त्रेता युगमा अयोध्याका राजा दशरथ पुत्र रामले नेपालको मिथिला राजा जनककी छोरी सितासंग विवाह गरेको उदाहरण दिदै यसवाट पनि नेपाल-भारतको सम्वन्ध केलाउन सकिने सुझाए ।
उनले दुइदेश वीचको धार्मिक तथा सांस्कृतिक सम्वन्धलाई मजवुत बनाउदै अगाडि लैजान आवश्यक भएको बताए । भारतले असल छिमेकीकारुपमा नेपाललाई लिनुपर्ने भन्दै आगामी दिनहरुमा पनि सहयोग र सद्भावको खाचो आवश्यक रहने उल्लेख गरे । कार्यक्रममा नेपाल र भारतका बिभिन्न राजनितिज्ञ ,विश्वविद्यालयका उपकुलपति , प्राध्यापक र बिज्ञहरुको उपस्थिति रहेको थियो। उनीहरुले पनि नेपाल र भारतको सम्बन्धको बारेमा आ-आफ्ना विचार ब्यक्त गरेका थिए ।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मुल संरक्षक रहेको यस संस्थाको आयोजक समितिका संयोजक तथा महायोगी गोरखनाथ विश्वविद्यालय एवम महाराणा प्रताप महाविद्यालय गोरखपुरका डा.सुवोधकुमार मिश्राले सवैलाई सम्मान तथा स्वागत गरेका थिए ।