featured photo: Birat Post
विराटनगर ,२० फाल्गुन । विपीमा समर्पित भन्दै नेता महेश आचार्यले एउटा गीत सामाजिक सन्जाल फेसवुकमा राखेका छन् । उनले गीतलाई ४२ वर्षपछि साझा गर्न मन लाग्यो भनेर लेखेका छन्।
उनले फेसवुकमा लेखेका छन् , “यो नोट लेख्न बस्दा अमेरिकामा बिहानको ०४:५० भएको छ।हठात् निद्रा खुलेदेखिनै मन धेरै पुराना संझनामा अल्झिरह्यो।वि.पी.को देहान्तको केही समय अघि एउटा उदास साँझ शशाङ्कले मेरो ढोका ढकढकाए।मैले ढोका खोले पछि शशाङ्कले एक सासमा भने- ‘महेशदाई ! डाक्टरले दिल्लीमा बाबाको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल छ भनेछन्’!! मन विचलित र आँखा रसिला भए।विपी नहुँदाको रिक्तता र भविष्यको अनिश्चितता संझेर त्यो साँझ निकै बेर भावुकतामा बगिरहें र विपीलाई समर्पित गरेर एउटा गीत लेखें।यो गीत म प्राय एकान्तमा गुनगुनाउने गर्थे, आज झण्डै ४२ वर्षपछि यो बिहान साझा गर्न मन लाग्यो।
डुब्न लाग्यो घाम क्षितिजमा,
निभ्न लाग्यो दीप पनि,
झर्छ तारा हाम्रो जगतको,
रुन्छु भन्छ जुन पनि ।
क्रान्तीका ति पाईताला,
शान्तिका उज्वल नयन,
मुक्तिका ज्योति बने ति,
कोटीका माया र मन,
तर देशले चिन्नै सकेन,
त्यो अतितमै अल्झियो,
गोधुलीको क्रुर व्यथाले,
छाती हाम्रो बल्झियो।
उडन् थाले शुन्यमा,
सृष्टिका कोमल चरा,
फर्किदैनन् गुँड भित्र,
फेरि कहिले ति चरा,
प्रार्थनामा हाथ पसारि,
मागौं कि आयुहरु,
सुन्छ कि पो दैवले,
आँसुका बिन्तीहरु।
मृत्युलाई साक्षी राखी,
आज यो बाचा भन,
सृष्टिको हर रीत चुँडेर,
फेरि जन्मन्छु भन,
पाखुरामा हर तरुणको,
आँखाका यि नानीमा,
आउ बस्न संझनाका,
हर नयाँ बिहानीमा।
सम्बन्धित