Birat Post मंगलबार, फाल्गुण ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ फागुन / तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ । सबैभन्दा बढी विकास खर्च गर्ने वीरगञ्ज महानगरको ३४.३१ प्रतिशत छ ।

महानगरका १९ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताए । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित १ अर्ब १५ करोडभन्दा बढी विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको मेयर कोइरालाको भनाइ छ । मेयर कोइरालाकै शब्दमा महानगरको प्रशासनिक भवनको हालसम्म ३५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको छ । विराट राजाको दरबार परिसरमा झण्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको छ । वडास्तरका साना विकासका योजना पनि धमाधम भइरहेको उनको भनाइ छ । विराटनगर महानगरपालिकाले पुँजीगत अर्थात् विकास खर्च १ अर्ब २६ करोड ८० लाख विनियोजन गरेकोमध्ये ३४.१५ प्रतिशत खर्च गरेको छ । वीरगञ्ज महानगरको पुँजीगत खर्च ३४.३१ प्रतिशत छ । वीरगञ्जले ७९ करोड २८ लाख विनियोजित बजेटमध्ये २७ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ ।

विभिन्न घटनाले सधैं चर्चा पाइरहने काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम विकास खर्च गरेको छ । काठमाडौं महानगरले विकास खर्च १४.११ प्रतिशत मात्रै गर्न सकेको छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च गरेको छ । ललितपुर ३३ प्रतिशत गर्दा पोखरा महानगरपालिका २५ प्रतिशतमा सीमित छ । तीनै तहको सरकारले बजेट सार्वजनिक गर्दा विकास खर्च कार्यान्वयनमा जोड दिने बताउँदै आएका छन् । तर कार्यान्वयन पक्ष कमजोर हुँदा सधैं आर्थिक वर्षको अन्त्यमा हतारमा विकासका कार्य गर्ने प्रवृत्ति रहँदै आएको छ ।

विराटनगर महानगरमा वडाध्यक्षहरूको समन्वय र सक्रियता, कर्मचारी प्रशासनको जिम्मेवारितालगायतका कारणले विकास खर्चमा विराटनगर अब्बल देखिएको मेयर कोइरालाको भनाइ छ । “सरोकारवाला सबैको सक्रियताले माघसम्ममा विकास खर्च गर्ने महानगरमध्ये विराटनगर दोस्रो हुन सफल भएको छ,” मेयर कोइरालाले भने, “चालु आर्थिक वर्षमा विकास खर्च गर्ने सम्भवत: हामी पहिलो नै हुन्छौं ।” विराटनगर महानगरको चालुतर्फको खर्च भने ४४.३१ प्रतिशत रहेको छ । चालु आवका लागि चालुतर्फ १ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये ६८ करोड ६२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । अन्य महानगरभन्दा विकास खर्चमा विराटनगर अब्बल हुनुमा नियमितजसो अनुगमन, उपभोक्ताहरूको सक्रियताले पनि काम गरेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल