विराटनगर,१५ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका छन् । अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्की अनुगमनका लागि पुगेका थिए ।
मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएअनुसारका औषधि पसलमा भए नभएको हेरेका थिए । जनताको सुविधाका लागि नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै मेयर कोइरालाले जनतालाई दु:ख दिने काम नगर्न आग्रह गरे । अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधिसमेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासोसमेत आएको महानगरले जनाएको छ ।