Birat Post बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ माघ /

विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलबाट बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा समितिसमेत बनाइएको छ ।

समितिमा ग्लोबल आईएमी बैंकका प्रदेश प्रमुख निश्चल अधिकारी, एनआईसी एसियाका प्रमुख हीराप्रसाद पौडेल, स्ट्यान्र्ड चार्टर बैंककी प्रदेश प्रमुख शर्मिला होमागाईं र कृषि विकास बैंकका प्रदेश प्रमुख रञ्जन खनाल सदस्य रहेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत सबै बैंकहरू विराटनगरलाई सुन्दर र हराभरा बनाउन तयार भएका छन् । बरगाछीदेखि रानीसम्म ४६ वटा डिभाइडर छन् ।

ती सबै डिभाइडरमा एकै प्रकारका फूल र बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने गरी सिक्स लेन सडकको सौन्दर्यकरण गर्न लागिएको मेयर नागेश कोइरालाले बताए । समितिले माघ १५ गतेभित्र सौन्दर्यकरणमा लाग्ने खर्च, दीर्घकालीन संरक्षणका लागि महानगरले गर्नुपर्ने कार्यलगायतका सुझावसहितको प्रतिवेदन तयार पार्नेछ ।
प्रतिवेदन तयार गर्नका लागि प्राविधिक सहयोग महानगरले उपलब्ध गराउनेछ । समितिले तयार पारेको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको काम अगाडि बढाइने महानगरको सरसफाई तथा वातावरण शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए ।

महानगरले सौन्दर्यकरणका लागि सहजीकरण गर्न शाखा प्रमुख दाहालसहित नगर प्रहरी प्रमुख राजन पौडेल र वातावरण शाखाकी इन्जिनियर सुदीक्षा कार्कीलाई तोकेको छ । “विराटनगर बनाउने दायित्व महानगरपालिकाको मात्रै नभएर यहाँका सबै संघसंस्था र व्यक्तिहरूको पनि हो,” मेयर कोइरालाले भने, “त्यसका लागि पहिलो चरणमा बैंकर्सहरूसित छलफल गरेका छौं । पहिलो चरणमा सिक्स लेन सडक र त्यसपछि घिनाघाट–मिलनचोक सडक र महानगरका प्रमुख सडकहरूको क्रमश: सौन्दर्यकरण गर्ने योजना छ ।” सबैको अपनत्व हुनेगरी महानगरले सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको मेयर कोइरालाको भनाइ छ ।

रोपेको फूल र विरुवाको दीर्घकालीन संरक्षण गर्ने गरी महानगरले सौन्दर्यकरण गर्न लागेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । संरक्षणमा लाग्ने आर्थिक र जनशक्ति सबैको खाका तयार भइसकेपछि वृहत रुपमा सौन्दर्यकरण अभियान सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।

भाटभटेनी सुपरमार्केटले २ र पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठबाट ३ वटा डिभाइडरको सौन्दर्यकरण गर्ने प्रतिबद्धता आइसकेको दाहालले जानकारी दिए । विराटनगरमा २० वटा वाणिज्य बैंकका प्रदेश र शाखा कार्यालयहरू सञ्चालनमा छन् । त्यसबाहेक वित्तीय संस्थाका केन्द्रीय र प्रदेश कार्यालयहरू पनि रहेका छन् । यसअघि नेपाल उद्योग परिसंघ कोशी प्रदेशले बरगाछी दक्षिणको एउटा डिभाइडरमा फूल र विरुवा रोपिसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
अभियन्ता दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौँ लगियो
प्रसाइलाई झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुदै
नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल