विराटनगर,२३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफ्नो मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै नेता सिटौलाले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
पार्टीले सर्वसम्मत निर्णय गरेअनुसार आफूले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै उनले सबै दलबीच समझदारी कायम गरी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । “गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन रहनेछ”, उनले भने ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ । सोही क्रममा कांग्रेस नेता सिटौलाले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराएका हुन् । झापाको भद्रपुर नगरपालिका–१० का सिटौलाको प्रस्तावकमा प्रदीपकुमार सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।