विराटनगर,१२ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशीका प्रदेश सभा सदस्य भीम पराजुलीले अल्पकालीन,मध्यकालीन र दीर्घकालीन विकासका योजनाहरु लक्षित समयमा पूरा हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विराटनगरमा बिहिबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले छोटो–छोटो समयमा हुने राजनैतिक परिवर्तन र खिचातानीका कारण लक्षित विकासहरु ओझेलमा परिरहेको बताए । आफु विराटनगर महानगरको पूर्व मेयर भएको ,अहिले यही क्षेत्रको प्रदेशसभा सदस्य भएको नाताले पनि विकासका सवालमा आफुले चासो राख्ने गरेको बताए ।
उनले विराटनगर ,कटहरी र रंगेली हुलाकी सडकमार्गको विकासमा भएको ढिलासुस्ती,रेलवेको मुवाव्जा समस्या,कोशी अस्पतालको सेवा व्यवस्थामा देखिएको समस्या ,विराटनगर १९ को गिरिजाप्रसाद कोइराला क्रिकेट मैदान नवनेको ,कटहरी गाउँपालिकामा रहेको कृषि बजार अलपत्र अवस्थामा रहेको ,आगोलागी र भवितव्य घटनाको व्यवस्थापन र उपचारस्थलको अभाव रहेको ,हिजोका सरकारहरुले ल्याएका जनमैत्री कार्यक्रम र विकासका कामहरुको संरक्षण अभाव भएको लगायतका विषयहरु उठान गरेका थिए ।
सोही अवसरमा बोल्दै पराजुलीले पुराना सरकार तथा नेताहरुले गरेका हरेक विकासहरु नेताहरुको गोजीवाट नभइ नागरिकवाट उठेको कर र राज्यको सम्पती भएको भन्दै त्यसको संरक्षणमा लाग्नुपर्ने बताए । उनले भने, “कतिपय कुराहरु सुन्दै छु , विराटनगरको हिमालय रोडमा बनेको संरचना भत्काउने भनेर । त्यो म तत्कालिन अवस्थामा मेयर हुदा स्थानियको सहमतिमै निर्माण कार्य सुरु भएको हो । जुनरुपमा त्यो रोड बन्नुपर्ने हो अझै बनेको पनि छैन । किन त्यसमा ढिला सुस्ती भएको हो ,मैले बुझ्न सकेको छैन । पहिलेका मन्त्री,सांसद र मेयरले बनाएका संरचना नयाँ बनेका सरकारले भत्काउदै जाने त होइन होला ! ”
केही दिन यता हिमालय रोडका व्यवसायीहरु रोडलाई पुरानो आवस्थामा फर्काउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । यसमा स्थानिय घरवालाहरु भने बनेको रोडको विपक्षमा छैनन् । केही समुहले उचालेको भरमा आन्दोलन भइरहेको आरोप आन्दोलनकारीले खेपिरहेका छन् ।
यस्तै उनले यही अवस्थामा प्रदेश सरकारलाई अधिकारविहिन बनाइराख्न नहुने बताए ।
यही अवस्थामा प्रदेश सरकार रहनु र नरहनुको कुनै अर्थ रहदैन उनले भने, “संघीय सरकार यसमा लचिलो बन्न पर्छ ।” यस्तै हिन्दु राष्ट्रको एजेण्डा आफुले उठाउने गरेको र सोही अनुरुप सवैले सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय देशमा भइरहेका उत्तेजक गतिविधिमा नेतृत्व तहमै रहेका दलका नेताहरु सामेल भएको आरोप पनि लगाए ।