विराटनगर,५ पुष ।
मोरङ व्यापार संघ एक्स्पो-२०२३ को सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर-२ विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुष ६ गतेदेखि १६ गतेसम्म हुने मेलाको तयारी पूरा भएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाका अध्यक्ष नविन रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एक्स्पोको उद्घाटन गर्ने जानकारी दिए । रिजालले ११ दिने मेलाको भरपूर सदुपयोग गरिने बताए । कतिपय अवस्थामा मेलाको समय बढाउने गरिएको भएपनि यसपटक भने कुनैपनि हालतमा समय थप नगरिने बताए । बरु यो अवधिमा धेरै भन्दा धेरै कार्यक्रम गर्ने रिजालले बताए ।
आइफिल टावर,जर्मन प्रविधिको ह्याङ्गर जडान,बाल उद्यान,,घोडावाट एक्स्पोको अवलोकन,विभिन्न मनोरञ्जनका खेलहरु राखेर मेलालाई भव्य बनाइएको छ ।
संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साहले झण्डै ५ लाख भन्दा बढि उपभोक्ताले एक्स्पोको अवलोकन गर्ने बताए । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरेर २ सय ४० भन्दा बढि स्टल रहने उनको भनाइ छ । यस्तै इटहरीको पाँच तारे सोल्टी होटलको खाना खाने स्टल समेत राखिएको साहले बताए । मेला सम्पन्न गर्न ४ करोड रुपैयाँ खर्च हुने अनुमान आयोजक समितिको छ ।
पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजु, मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा ,नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष पवन सारडा ,विराटनगर महानगरपालिका वडा.न.२ का वडाध्यक्ष कुमार पोखरेल लगायतको उपस्थिती रहेको थियो ।