काठमान्डौं,२८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाकाे एकल इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे हाे ।
खाणका वकिल र सरकारी वकिलहरू दुवै पक्षको बहस आजै सकिएको थियो । खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरेका थिए। प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि खाणको पक्षमा बहस गरे । सरकारका तर्फबाट सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाणका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन्।
यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो। बिहीबार अर्को कोइरालाकाे इजलासले यसबारे निर्णय गरेको हो ।