विराटनगर,२६ मंसिर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गरेका छन् । मेयर कोइरालाले मंगलबार जामुनगाछी–केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्यासमेत सुनेका थिए ।
उनले मापदण्डमा परेका घरधनीहरुसँग समस्या समाधान गर्नका लागि छलफल गरेका थिए । सडक निर्माणपछि सो क्षेत्रको विकासले गति लिने मेयर कोइरालाले विश्वास व्यक्त गरे । निर्माणको कामलाई गति दिन मेयर कोइरालाले निर्माण व्यवसायी वासु उप्रेतीलाई निर्देशन दिए ।
अनुगमनका क्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ४ का वडाध्यक्ष जितन थापा, महानगरका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेसहित वडा सदस्यहरुका साथै योजना महाशाखा प्रमुख अर्जुन थापालगायतको समेत उपस्थिति रहेको थियो । विगत लामो समयदेखि अवरुद्ध रहेको सो सडक मेयर कोइरालाको सक्रियतामा पछिल्लो समय निर्माणले गति लिएको छ ।