विराटनगर,२५ मंसिर । विराटनगरका एक युवकमाथि नेपाल–भारतको सीमा क्षेत्रमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ गोली प्रहार भएको मोरङ प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । संग्रौलाको बाँया तिघ्रामा गोली लागेको छ ।
विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ । दश गाजा वा नेपाली भूमिमा संग्रौलामाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट नखुलेको बताउँदै एसपी पोखरलेले भने, ‘दश गाजा वा नेपाली भूमिमा घटना भएको भए नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई थाहा हुन्थ्यो । पीडितले घटना जहाँ भनेका छन्, त्यहाँ २४ सै घण्टा प्रहरीको तैनाथी हुन्छ । त्यस वरपर पनि नेपालका दुवै प्रहरीहरुले गस्ती गरिरहने हुँदा घटनाबारे कुनै पनि सुरक्षा निकायलाई थाहा छैन ।’
उनी उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी गएका थिए । साँझ घर फर्कंदै गर्दा गोली प्रहार भएको घाइते संग्रौलाले बताएका छन् ।