अष्ट्रियाको इन्स्ब्रुगमा विगत दुई दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसाय साथै खेल क्षेत्रमा समेत योगदान गर्दै आउनु भएका नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)का अध्यक्ष दिलकुमार घमाल संग समसामयीक विषयमा गरिएको कुराकानी :
युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा निकै जोडतोडका साथ लागिरनु भएको छ, कस्तो छ त्यहाँ बस्ने नेपालीको प्रतिक्रिया ?
हामीले सन् २०२० मा संस्था नै स्थापना गरेर नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन र प्रचारप्रसार गरिरहेका छौं । हामीले नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) स्थापना गरेका छौं । एनईएससीमार्फत पनि हामीले प्रतियोगिता गरिसकेका छौं । त्यस्तै युरोपका विभिन्न देशमा आयोजना भएका प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छौं । जित्नु ठूलो कुरा होइन । सबैभन्दा ठूलो कुरा त प्रतियोगितामा सहभागिता जनाउनु हो । एनईएससीलाई निम्ता प्राप्त भएसम्म र समय मिलेसम्म सहभागिता जनाउँदै आएका छौं । युरोपमा भलिबल खेलप्रतिको आकर्षण निकै नै पाएका छु मैले । विभिन्न ठाउँमा बसोबास गर्ने नेपाली साथीभाइहरू एनईएससीसित जोडिरहनु भएको छ ।
हालै अष्ट्रियाकै साल्जब्रुगमा भएको प्रतियोगितामा सहभागिता जनाएर फर्किनु भएको छ, कस्तो रह्यो एनईएससीको सहभागिता ?
यही अक्टोवर १ तारिखमा अष्ट्रियाको महत्वपूर्ण ठाउँ साल्जब्रुगमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो । त्यसमा हाम्रो एनईएससी र गण्डकी साल्जब्रुगबीच मैत्रीपूर्ण खेल भयो । प्रतियोगिता अत्यन्तै ऐतिहासिक र स्मरणयोग्य बन्यो । साल्जब्रुगलाई ३–१ को सोझो सेटमा हराउँदै हाम्रो टिम एनईएससी विजयी भयो । यो खेलबाट म मात्रै होइन हाम्रो सम्पूर्ण टिमका साथीहरू नै उत्साहित हुनु भएको छ । एनईएससीबाट खेम विश्वकर्मा, दिलकुमार घमाल, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, एल्विन हुवामन, अमृत तिवारी, अञ्जल अधिकारी, राजु विश्वकर्मा, सुनिल दियाली, रावत विजय पलले सहभागिता जनाउनु भएको थियो । उहाँहरू सबै निकै उत्साहित हुनुभएको मैले पाएको छु । टोलीको प्रबन्धकका रुपमा पासाङ निग्मा शेर्पाले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभयो । त्यस्तै समाजसेवी एवं व्यवसायी विकास कार्की, अंग कामी शेर्पा, कृष्ण विश्वकर्मा, मिग्मा शेर्पाले सल्लाहकारका रुपमा रहेर हाम्रो टिमलाई हौसला र ऊर्जा प्रदान गर्नुभयो । सबैको साथ र सहयोगले नै मैत्रीपूर्ण खेलमा हाम्रो जित भयो । मैत्रीपूर्ण भलिबल प्रतियोगिताको जितले टिमलाई अत्यन्तै ठूलो ऊर्जा प्राप्त भएको छ ।
विदेशमा त धेरै व्यस्त हुनुपर्छ, संघलाई अगाडि बढाउनु त छँदैछ त्यसमाथि विभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागिता जनाउन गाह्रो हुँदैन ?
सबैभन्दा ठूलो त मनै रहेछ । यदि मनले जितायो र आँट्यो भने जतिसुकै व्यस्त भए पनि समय निकाल्न सकिन्छ । हुन त अहिले युरोपमा धेरै अप्ठ्यारो अवस्था छ । कोरोना अनि त्यसपछि सुरु भएको रुस–युक्रेन युद्धले आर्थिक अवस्था डामाडोल भएको छ । तर, पनि हामीले संघमार्फत खेलकुदका गतिविधि गरिरहेका छौं । हामीले प्रतियोगिता मात्रै गरिरहेका छैनौं । संघमार्फत विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरूबीच बेलाबेला भेटघाट पनि गरिरहेका छौं । केही समयअघि मात्रै अष्ट्रियाको सबैभन्दा अग्लो हिमालमा हामीले एनईएससीको झण्डा फहरायौं । संघलाई देश तथा विदेशमा परिचित गराउन प्रचारप्रसार गर्ने उद्देश्यले अष्ट्रियाको सबैभन्दा अग्लो हिमालका रुपमा रहेको ग्रोस्ग्लोक्नेरको चुचुरोमा संघको लोगोसहितको झण्डा फहराउँदाको क्षण अत्यन्तै सुखद रह्यो । संघका महासचिव राजु विश्वकर्मा र कोषाध्यक्ष गारा तेम्बा शेर्पाले सो हिमालमा झण्डा फहराउनुभयो । मचाहिं सो हिमालको २९ सय मिटरसम्म मात्रै पुग्न सफल भएँ । हिमाल चढ्ने अभ्यास नभएका कारण माथि पुग्ने आँट आएन । यसपटकको अभ्यासले अर्को वर्ष अझै धेरै साथीहरूका साथै चुचुरोमा पुग्ने लक्ष्य लिएको छु । जतिसुकै व्यस्त भए पनि हामीले विभिन्न गतिविधिहरू गरिरहेका छौं । साथीहरूबाट प्राप्त हौसलाले अझै काम गर्ने जाँगर पलाएको छ ।
एनईएससीको नेतृत्व गरिहँदा कस्तो महसुस गरिरहनु भएको छ ?
खेलकुद भनेको यस्तो क्षेत्र हो जसका माध्यमबाट आणविक हतियार र आर्थिक रुपमा जतिसुकै शक्तिशाली देशलाई पनि परास्त गर्न सकिन्छ । खेलकुदले आपसी भाइचारा अभिवृद्धि गर्नुका साथै मानिसलाई भावनात्मक रुपमा समेत जोड्दछ । ‘स्वास्थ्यका लागि खेलकुद, आपसी भाइचाराका लागि प्रतियोगिता’ भन्ने एनईएससीको नारा नै छ । मैले कतै सुनेको र पढेको थिएँ कि– राजनीतिले जोडिएका मनहरूलाई समेत टुक््रयाउँछ, भत्काउँछ । तर खेलकुदले टुक्रिएका मन र मुटुलाई जोड्छ । यसपटकको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पनि त्यही भयो । धेरै लामो समयदेखि भेट नभएका साथीहरूसित भेटघाट भयो । लामो समयदेखि सम्बन्ध राम्रो नभएका साथीभाइको सम्बन्धलाई सुमधुर बनायो । एनईएससीमार्फत धेरै साथीहरूसित जोडिने मौका मिलेको छ । सबै साथीभाइबाट पनि राम्रो साथ र सहयोग पाइरहेको छु । यो संस्थाप्रतिको आकर्षण बढ्दो छ । आफ्नै सक्रियतामा स्थापित संस्थाप्रति बढ्दो चासो र आकर्षणले मलाई निकै नै गर्वको महसुस भइरहेको छ ।