विराटनगर , भदौ १२ । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साथै उक्त साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका सबै पदाधिकारी तथा सदस्यहरुसमेत सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाले समितिको उपाध्यक्षमा सुनिल बराइली , सचिवमा निरन्जन खतिवडा, सह–सचिवमा केशव प्रसाद लम्साल, कोषाध्यक्षमा प्रशान्त कुमार संघाई र सह–कोषाध्यक्षमा शेखर प्रसाद सुवेदीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हरिराज रेग्मी , सञ्जीव वराल , सुमन अधिकारी, रमेश तिमल्सिना, सुवा श्रेष्ठ, अमरराज वस्याल र रोशिर मास्के निर्वाचित भएका छन् ।
साधारणसभाको बन्द सत्रले सबै पदाधिकारी तथा सदस्यहरुलाई पून: दुई वर्षे कार्यकालकालागि सर्वसम्मत चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य विराटनगरका हरिराज रेग्मीले जानकारी दिएका छन् ।
देशभर छरिएर रहेका दन्त सामाग्री वितरक व्यवसायीहरुलाई एकढिक्का बनाई व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले संघको स्थापना भएको जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष अर्यालले छरिएर रहेका दन्त सामाग्री वितरकहरुलाई संघमा आबद्ध गर्ने कार्यलाई तिब्रता दिई आउने दिनमा बृहद बनाइनुका साथै व्यवसायीका हकहितमा लागिपर्ने बताएका थिए । उनले दन्त सामाग्री वितरक व्यवसायीहरु बीच स्वस्थ्य प्रतिष्पर्धालाई आत्मसात गराउँदै व्यवसाय भित्र देखापर्ने विकृति र विसंगतिका विरुद्ध संघ एकताबद्ध भई लड्ने दावी गरे ।