विराटनगर,१६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुन: नियुक्त भएका छन् ।
मंगलबार सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा दाबी पेस गरेका थापालाई नेपालको सविधानको धारा १६८ को उपधारा९२० बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदको समर्थन रहेको छ ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल एमालेको ४० तथा राप्रपाको ६ प्रदेश सांसद छन् ।
गत असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४६ प्रदेशसभा सदस्य र सभामुखको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सरकार भंग गर्न माग गर्दै एमालेले हालेको रिटमा सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने भन्दै थापा पदमुक्त भएको फैसला गरेको थियो । आज भने माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा गराएर दाबी पेश गरिएको थियो ।
सो क्रममा प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान १०:३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।