विराटनगर,१२ असार ।
रगतको कमीले हुने अकाल मृत्युबाट बचाउन रक्तदान आवश्यक भन्ने जागरुकता जगाउन खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
‘खेर जाने रगतलाई दिने सके दान, आशिष लाग्छ मानिसको बच्न सक्छ ज्यान’ भन्ने नाराका साथ विराट व्यापार सङ्घले २३ औँ स्थापना दिवसको उपलक्ष्यमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै प्रत्येक तीन महिनामा खेर जाने रगत दान गरेमा धेरै नागरिकको अकालमा हुने मृत्युबाट वचाउन सकिने बताए । सङ्घका अध्यक्ष नरेश कुमार खत्री र कार्यकारी निर्देशक धरणी निरौलाले जीवन बचाउन रक्तदान आवश्यक भएकोले कार्यक्रमको आयोजना गरेको धारणा राखेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी, व्यापारी, एवं स्थानिय गरी एक सय जनाले रगत दान गरेको बताइएको छ ।