विराटनगर,२५ चैत ।
नेपालबाट भारत लान लागिएको १८० किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको जनाएको हो ।
सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर भारत जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए ।
शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर – ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।