काठमान्डौं,२३ चैत ।
प्रहरीले संकास्पद ढंगले दुबई हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थलको प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे,बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र सोलुखुम्बुका दोर्जी तामाङ रहेका छन्।
उनीहरू फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेका थिए। उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाइ रोमानिया र क्रोएसिया जान लागेका थिए।
विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा नभएको र उनीहरूको यात्रा संकास्पद देखिएकाले पक्राउ गरेको जानकारी दिए ।