काठमान्डौं,७ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताएका छन् । मंगलवार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोईरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली काँग्रेसबाट हुनु नहुने बताए ।
उनले अहिलेका परिस्थितिलाई काँग्रेसले गम्भीर रुपमा नियालीरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा काँग्रेसकै काँधमा रहेको बताए । उनले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा काँग्रेसको रहेको बताए । नेता कोईरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली काँग्रेस नचुकेको बतए । उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गरे । उनले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रुपमा लिएको बताए ।