काठमान्डौं,४ माघ । नेकपा एमालेबाट सभामुखको उम्मेदवार देवराज घिमिरे हुने भएका छन् । बुधवार संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि उनले सभामुखको उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गरे संगै पत्रकारहरु संग कुरा गर्दै उनले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भुमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए ।
सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका घिमिरेलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रश्ताव गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन ले समर्थन गरेका छन् । प्रतिनिधि सभामा समामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ ।
एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका थिए । हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भुमिकामा रहनुभएका उहाँ २०५६ सालमै राष्ट्रिय सभाको सांसद भएका थिए ।
यता नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । दुइजना बीच सभामुखको चुनाव हुने देखिएको छ । यसका लागि कांग्रेसले सरकारमा सहभागी नभएका दलहरु संग छलफल गरिरहेको छ ।