विराटनगर,१३ पुष । विराटनगरका उद्योगी र सरकारबीचको वार्ता सकारात्मक रहेको उद्योगीहरुले बताएका छन्। सडक आन्दोलन गरिरहेका उद्योगीहरुलाई हालै नवनियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि आन्दोलन रोकिएको थियो भने वार्ता समिति काठमाडौं गएका थिए । उद्योगीहरुले बुधबार अर्थमन्त्री पौडेलसँग छलफल गरेका छन् ।
उद्योगीहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगीको समस्याप्रति गम्भीर रहेको र छिटै राष्ट्र बैंकका गभर्नरसँग सल्लाह गरेर समस्याको समाधान निकाल्ने आश्वासन दिएका छन् । अर्थमन्त्रीको आश्वासन संगै केही दिनका लागि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।