विराटनगर,३१ असोज ।
मोरङको रंगेली नगरपालिका-९ बेलचोकका आशिस मुर्मू उपचार खर्च तिर्न नसक्दा झण्डै २ महिना देखि विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा बन्दी सरह बाँचिरहेका छन् । गोडामा गम्भिर चोट लागेर उनी अस्पतालमा पुगेका थिए । हस्पिटल र फार्मेसीको झण्डै २ लाख रकम तिर्न नसक्दा अस्पतालले बाहिर निस्कन नदिएको बुबा दिलिप मुर्मूले गुनासो पोखेका छन् ।
उपचार खर्च बुझाउन नसकेर अस्पतालमै बन्धक स्थिति निम्तिएपछि मुर्मूले सहयोगको लागि हारगुहार गरिरहेका छन् । ‘मेरो घरमा खाने चामल पनि छैन, घाइते छोरा अस्पतालमा बन्धक बन्यो,’ उनले भने, ‘म कसरी छोरालाई हस्पिटलबाट निकालौ ? मुर्मू अस्पतालको सर्जिकल वेड ७ मा रहेका छन् । उनको घाउ पनि निको हुने चरणमा छ । अर्काको घरमा ज्यालादारी गरेर कमाएको भरमा बाचेका उनले साहु संग ऋण समेत लिएका छन् । एकातीर साहुको ऋण र अर्कातीर अस्पतालमा तिर्नुपर्ने पैसा नहुदा मुर्मू परिवार चिन्तामा डुवेको छ ।
उनलाई रंगेली नगरपालिकाले समेत सहयोग नगरेको गुनासो परिवारको छ । मेयर दिलिप बगडिया संग सहयोगका लागि जादा अभद्र व्यवहार गरेको गुनासो परिवारको छ । सामाजिक क्षेत्रमा काम गर्ने ब्यक्ति भनेर प्रचार गरिएका बगडिया नगरवासीको सुख दु:खमा समेत पछिल्लो समय निष्क्रिय देखिएका छन् । पिडित बनेका मुर्मू परिवारले सहयोगका लागि अपिल गर्दै छोरालाई अस्पतालबाट बाहिर आउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।